नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजता बनाउने पहिलो प्राथमिकता छ ः निशान्त शर्मा

ओखलढुङ्गान्युज । २४ बैशाख, ओखलढुङ्गा । गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएमा सामाजिक सुरक्षा भत्ता वितरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार निशान्त शर्माले बताएका छन् । शनिवार ओखलढुङ्गान्युज डटकमको प्रतिनिधीसँग छोटो कुरा गर्दै गाउँपालिकाको अध्यक्षका उमेद्वार शर्माले यस्तो बताएका हुन् ।

शर्मा चिशंखुगढी गाउँपालिकामा गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रको तर्फवाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार हुन् । स्थानीइ सरकार बनेपछि पहिलो कार्यकालमा आफैले काम गरेकोले पहिलो कार्यकालमा सुरुवात गरेका कतिपय योजनाहरुलाई सम्पन्न गर्न पनि नागरिकहरुले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । पालिकामा आफ्नो पार्टीको स्थानीय संगठनहरु मजबुद हुनुका साथै आफू स्थानीय भूगोलमा नै रहेर काम गरेको तथा ठूला राजनीतिक दल विच चुनावी गठबन्धन समेत बनेकोले गाउँपालिकाको अध्यक्ष पदमा आफूलै जित्ने दावी गरे ।

अध्यक्ष पदका उमेद्वार शर्माले भने, ‘ठूला राजनीतिक दलका बिच चुनावी गठबन्धन बनेको छ । पहिलो कार्यकालको काम हेरेर नागरिकहरुले विश्वास पनि गरेका छन् । स्थानीय पार्टी कमिटि पनि मजबुद छ । पहिलो कार्यकालमा सुरुवात गरेका कतिपय अधुरा योजना तथा कार्यक्रम पनि पूरा गर्नु छ । त्यसैले पनि नागरिकहरुले मलाई मत दिएर विजयी गराउनेछन् ।’

अध्यक्ष पदका उमेद्वार शर्माले आफू निर्वाचित भएमा आगामी पाँच वर्ष भित्र गाउँपालिकाको मुहार फेर्नेगरि गर्ने योजना समेटेर गठबन्धनको तर्फवाट घोषणा पत्र समेत जारि गरिसकेका छन् । निर्वाचित भएपछि आगामी कार्यकालमा नागरिकहरुको जिवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै स्वास्थ्य क्षेत्रमा सुधार, पूर्वाधार विकासलाई दिगोपना बनाउने, पालिकाका हरेक घरमा खानेपानी पुर्याउने, शिक्षामा गुणस्तर बृद्ध गराउन थप कार्यक्रम सञ्चालन, कृषिलाई व्यबसायीकीकरण गर्ने कुरालाई प्राथमिकतामा राखेको शर्माले बताए ।

त्यस्तै, सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि नागरिकहरुलाई परेको अप्ठ्यारोलाई सम्बोधन गर्न वडासँग समन्वय गर्दै जेष्ठ नागरिकहरुलाई वडामा नै सेवा दिने गरि बैंकसँग सहकार्य गर्ने, युवा लक्षित खेलकुदका कार्यक्रम सञ्चालन तथा युवालाई स्वरोजगार बनाउने गरि कार्यक्रम सञ्चालन गर्ने योजना रहेका शर्माले बताए ।

चिशंखुगढीको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उमेद्वार शर्मासँग नेकपा एमालेका अशोक थापा र नेकपा एकिकृत समाजवादीका शारदा निरौलाले प्रतिष्पर्धा गर्दैछन् ।