नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा खिजिदेम्बा गाउँपालिका

ओखलढुङ्गान्युज २४ बैशाख, ओखलढुङ्गा स्थानीय निर्वाचन बैशाख ३०  नजिकै आई सकेको छ । जति निर्वाचन नजिक आउछ त्यति नै राजनीतिक दलका नेता तथा उमेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् भने उमेद्वारहरुले पनि मतदाता भेटघाट अभियानलाई तिब्रता दिएका छन् ।

यसैक्रममा यहाँ स्थानीय निर्वाचन २०७४ मा खिजिदेम्बा गाउँपालिकामा कुन् राजनीतिक दलको अवस्था कस्तो थियो भनेर तथ्यांक प्रस्तुत गरिएको छ । तथ्यांकलाई हेर्दा र स्थानीय निर्वाचन २०७९ लाई हेर्दा कतिपय स्थानमा नयाँ राजनीतिक दलले दबदबा सृजना गरेका छन् भने पहिले चुनाव जितेका राजनीतिक दल र उमेद्वारहरुलाई यसपटक जनताको मन जित्न धौ धौ हुने देखिएको जानकार विश्लेषकहरु बताउछन् ।

खिजिदेम्बा गाउँपालिकालाई फर्केर हेर्दा

स्थानीय तहको निर्वाचन २०७४ मा आफ्ना मुख्य प्रतिष्पर्धीलाई करीब ६ सय मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उमेद्वार गाउँ पालिकाको अध्यक्ष पदमा विजयी बनेका थिए । त्यहाँ नेपाली कांग्रेसका बेद बहादुर रोका २ हजार ९६५ मत सहित विजयी बनेका थिए भने उनका मुख्य प्रतिष्पर्धी नेकपा एमालेका लाक्पा गेल्बु शेर्पाले २ हजार ३६१ मत पाएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका उमेद्वार सुदिप सुनुवारले ६०२ मत पाएका थिए ।

गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेका उमेदवार पार्वती रोकालाई १ हजार १३ मतले पछि पार्दै कांग्रेसका शुशिला तामाङ विजयी बनेका थिए । कांग्रेसका शुशिलाले ३ हजार १२४ मत पाएका थिए भने एमालेका रोकाले २ हजार १११ मत पाएका थिए । त्यस्तै उपाध्यक्ष पदका उमेद्वार माओवादी केन्द्रका निल कुमारी कार्कीले ६०३ मत पाएका थिए ।

खिजिदेम्बा गाउँपालिकामा २०७४ सालमा केहि स्थानमा माओवादी केन्द्रसँग वाहेक अधिकांस स्थानमा एमाले र कांग्रेसका विचमा नै मुख्य प्रतिष्पर्धा रहेको थियो । यसैक्रममा वडा नं. १ को वडा अध्यक्ष पदमा कांग्रेसका सरोज कुमार सुनुवारले ५६४ मतका साथ विजयी बने । उनका प्रतिद्वन्द्वी एमालेका केशर बहादुर रोकाले २०४ र माओवादी केन्द्रका सन्त नारायण श्रेष्ठले १०९ मत पाएका थिए ।

वडा नं. २ मा एमालेका आङकाजी शेर्पा ३१२ मतका साथ विजयी बने । उनले कांग्रेसका आङ छेपाल शेर्पालाई १८ मतले उछिने । कांग्रेसका शेर्पाले २९४ मत पाएका थिए भने माओवादी केन्द्रका उमेद्वार अशोक कुमार घिमिरेले ४० मत पाएका थिए ।

वडा नं.३ मा नेपाली कांग्रेसका टंकराज सुनुवारले माओवादी केन्द्रका चम्पक सुनुवारलाई १३९ मतले पछि पार्दै विजयी बने । वडा अध्यक्ष पदको निर्वाचनमा कांग्रेसका सुनुवारले ३१४ मत र माओवादी केन्द्रका सुनुवारले १७५ मत पाएका थिए । त्यस्तै एमालेका लोकप्रिय सुनुवारले भने ६० मत मात्र पाएका थिए ।

वडा नं. ४ मा पनि एमालेका उमेद्वार कमल प्रसाद न्यौपानेले कांग्रेसका उमेद्वार ख्यामराज सुनुवारलाई २१ मतले पछि विजयी हासिल गरे । एमालेका न्यौपानेले २८६ मत पाएका थिए भने कांग्रेसका सुनुवारले २६५ मत पाएका थिए । त्यहाँ माओवादी केन्द्रका भीम बहादुर तामाङले १३७ मत पाएका थिए ।

वडा नं. ५ मा ४०३ मतका साथ नेपाली कांग्रेसका राम कुमार सुनुवार विजयी बने । त्यहाँ एमालेका कोप बहादुर सुनुवारले २४१ र माओवादी केन्द्रका साङ्गे तामाङले ३६ मत पाएका थिए ।

त्यस्तै वडा नं. ६ मा कांग्रेसका दुतमान तामाङलाई १०८ मतले पछि पार्दै एमालेका छत्र बहादुर तामाङ विजयी बने । निर्वाचित बनेका एमालेका तामाङले ३८७ र कांग्रेसका तामाङले २९५ मत पाएका थिए । त्यहाँ माओवादी केन्द्रका पासाङ ल्हामु शेर्पाले ३४ मत पाए ।

वडा नं. ७ मा पनि एमालेका बुद्धि बहादुर बस्नेतलाई १०५ मतले पछि पार्दै कांग्रेसका भुपेन्द्र बहादुर बस्नेत विजयी बने । उक्त वडा अध्यक्ष पदको निर्वाचनमा कांग्रेसका बस्नेतले ३२५ र एमालेका बस्नेतले २२० मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रेम बहादुर बस्नेतले पनि त्यहाँ १४७ मत पाएका थिए ।

त्यसैगरि वडा नं. ८ मा आफ्ना विपक्षीलाई २१० मतले पछि पार्दै कांग्रेसका नगेन्द्र बस्नेत विजयी बने । त्यहाँ कांग्रेसले बस्नेतले ३७८ मत पाएका थिए भने एमालेका तिलक कुमार गुरुङले १६८ मत पाएका थिए । माओवादी केन्द्रका पेम्बा शेर्पाले भने ४१ मत पाएका थिए ।

उता वडा नं. ९ मा जिल्लामा नै पहिलो पटक एमालेवाट वडा अध्यक्ष पदमा महिला निर्वाचित भए । त्यहाँ एमालेका आङ्पसी शेर्पाले कांग्रेसका ङ्वाङ फुरी शेर्पालाई ९ मतले पछि पार्दै विजयी बने । त्यहाँ एमालेका शेर्पाले २६१ र कांग्रेसका शेर्पाले २५२ मत पाएका थिए । त्यहाँ माओवादी केन्द्रका गेल्बु शेर्पाले ३४ मत पाएका थिए ।

स्थानीय निर्वाचन २०७४ को तथ्यांकलाई केलाउदा खिजिदेम्बा गाउँपालिकामा यसपटक पनि एमाले र कांग्रेसका विच मुख्य प्रतिष्पर्धा हुने देखिएपनि अहिले त्यहाँ जनता समाजवादी पार्टीले पनि बलियो रुपमा आफ्नो उपस्थिती देखाएपछि तिनओटै पुरानो ठूलो दललाई चुनौती सृजना गरेको छ । यसपटकको स्थानीय तहको चुनावमा खिजिदेम्बा गाउँपालिकामा कसले बाजी मार्ला त भन्ने विषयमा अहिले नै अड्कल गर्न नसकिएको जिम्मेवार नेताहरु बताउछन् ।