नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सिद्धिचरण नगरका मेयरका उमेदवार ईच्छा गुरुङको चुनावी घोषणापत्रमा के छ ?

ओखलढुङ्गान्युज २२ बैशाख, ओखलढुङ्गा आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने निर्वाचनवाट आफू सिद्धिचरण नगरपालिकाको मेयर पदमा निर्वाचित हुने एमालेका उमेदवार ईच्छा कुमारी गुरुङले बताउनुभएको छ । विहिबार ओखलढुङ्गान्युज डटकमका प्रतिनिधीसँगको छोटो कुराकानीमा गुरुङले यस्तो बताउनुभएको हो ।

कुराकानीका क्रममा नेकपा एमालेको तर्फवाट सिद्धिचरण नगरपालिकाको मेयर पदको उमेद्वार रहनु भएका गुरुङले वितेको ५ वर्ष कार्यकारी हुन नपाउदा सोचे र नागरिकको अपेक्षा अनुसारका काम गर्न नसकेको भन्दै त्यसलाई पूरा गर्नका लागि आफू नगरपालिकाको मेयर पदमा उमेद्वारी दिएको बताउनुभयो । जिल्ला कै ईतिहासमा गाउँ तथा नगरपालिकाको प्रमुख पदमा महिलाको तर्फवाट आफुले उमेदवारी दिएकोले पनि महिलाले गरेको काम हेर्न आफूलाई मत दिएर निर्वाचित गराउने विश्वास रहेको बताउनुभयो ।

आफूले पाँच वर्षसम्म उपमेयर हुँदा नगरपालिकाको प्रत्येक वडाका भूगोलको अध्ययन गरि जिवनस्तर समेत बुझ्ने अबसर पाएकोले सिद्धिचरण नगरपालिकाको मेयर पदमा निर्वाचित भएमा बाँकी रहेका अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू निर्वाचित भएमा आगामी पाँच वर्षमा नगरपालिकालाई कसरी कस्तो बनाउने भन्ने बारेमा योजना निर्माण गरि घोषणापत्र समेत जारि गरेको बताउनुभयो ।

उमेद्वार गुरुङले जारी गरेको घोषणापत्रमा आगामी पाँच वर्षमा सिद्धिचरण नगरपालिकाका सबै वडाहरुमा नियमित गाडी सञ्चालन गर्ने, नगरपालिकाका हरेक भौतिक पूर्वाधार जेष्ठ, अपाङ्ग, महिला मैत्री बनाउने, अधुरा रहेका योजना पूरा गर्ने, नयाँ आवश्यकिय योजना सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै नगरपालिकाले सुरुवात गरेको रिङ रोडको योजनालाई निरन्तरता दिने, सांस्कृतिक, ऐतिहासिक स्थलको संरक्षण गर्दै पर्यटकिय स्थलको विकास गर्ने, एकल महिला, बृद्धबृद्धालाई विशेष व्यबस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै शहरी स्वास्थ्य ईकाईमा विस्तार, ईसिडी कक्षाका सहजकर्ता शिक्षकहरुलाई नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध गराउने, महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मासिक ७ हजार ५ सय भत्ताको व्यबस्था गर्ने, त्यसैगरि जिल्ला सदरमुकाममा रहेको सवारी पार्किङ स्थलको उचित तथा बैकल्पिक व्यबस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।

सिद्धिचरण नगरपालिकाको मेयरमा गुरुङ निर्वाचित भएमा जिल्ला सदरमुकाम र नगरपालिका कार्यालय समेत रुम्जाटार लैजान्छ भनेर आफु विरुद्ध सृंखलाबद्ध रुपमा भ्रम फैलाईएको भन्दै उक्त भ्रममा नपर्न समेत सबैलाई आग्रह गर्नुभयो ।