नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

माओवादी केन्द्र लिखुको घोषणापत्रमा लोकप्रिय नारा, के छ घोषणा पत्रमा ?

ओखलढुङ्गान्युज । २२ बैशाख, ओखलढुङ्गा । चुनावी मिति नजिकिदै गर्दा नेकपा माओवादी केन्द्र लिखुले लिखु गाउँपालिकामा विजयी भएपश्चात गर्ने योजना तथा कार्यक्रमको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रले घोषणा पत्र मार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको हो ।

के छ घोषणापत्रमा ?

घोषणापत्रको पहिलो बुँदामा नै भ्रष्टाचार नगर्ने र गर्न नदिने कुरालाई प्राथमिकता दिईएको छ । घोषणापत्रमा लिुख एकवार सडकलाई पूर्णता दिने, स्थानीय सडक तथा पुल विस्तार, औद्योगिक ग्राम स्थापना, एकिकृत वस्ति निर्माण, रोजगारीको सृजना, घरघरमा ईन्टरनेट पु¥याउने, ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको संरक्षण गर्दै पर्यटकिय क्षेत्र विकासका लागि लगानी गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरि शिक्षा अन्तर्गत पालिकामा एउटा बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्ने, प्राबिधीक शिक्षा अध्ययन गरेर उत्कृष्ट अंक ल्याउने दुई जना छात्रा–छात्रलाई उच्च शिक्षा अध्ययनका लािग विशेष पुरस्कारको व्यबस्था गर्ने, शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षामा विशेष कार्यक्रमको व्यबस्था गर्ने उल्लेख छ ।

त्यस्तै, पशुपालनलाई व्यावसायीकरण गर्न आवश्यक प्राविधिक सहयोगका लागि प्रत्येक टोलमा औषधी सहितको पशु प्राबिधिकको व्यबस्था, कृषिमा विशेष पकेट क्षेत्रको विस्तार, एक वडा एक उत्पादनका लागि आवश्यक विउ, विजन तथा विरुवा सहयोग, कृषि उपजको बजारीकरण, लिफ्टिङ प्रणालीद्वारा सिंचाईमा सुबिधा पु¥याउने, जडिबुटी उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरि गाउँपालिकाका प्रत्येक घरघरमा विद्युतिकरणका लागि तत्काल कदम चाल्ने, पर्यटकिय क्षेत्रलाई लक्षित गर्दै होम स्टे सञ्चालन गर्न विशेष तालिम र प्रोत्साहन गर्ने, गाउँपालिकाका सुकुम्बासी नागरिकलाई आवासको व्यबस्था, वार्षिक कम्तिमा एकपटक स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रवासीएका नागरिकलाई फिर्ता ल्याउन ‘म जन्मभूमिलाई माया गर्छु, म मेरो घर जान्छु’ अभियान सञ्चालन गराउने, नागरिकको गुनासो सुन्न प्रत्येक १५ दिनमा पालिकाका कर्मचारी सहित वडामा उपस्थित हुने, बृद्धभत्ता वितरण र उनीहरुको उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने, लोक सहित्य, कला, संस्कृति, लोकबाजा संरक्षण गर्ने नीति ल्याउने, महिला, दलित, अपाङ्ग, संरक्षण विहिन नागरिकका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने कुरा घोषणा पत्रमा समेटिएको छ ।

चुनावको मुखमा कतिपय राजनीतिक दलहरुले आफ्नो बजेट र क्षमता भन्दा बाहिर गएर चुनाव जित्नका लागि मात्रै भएपनि ठूलाठूला तर पूरा हुन नसक्ने योजना पनि घोषणा पत्रमा ल्याएका छन् । तर आफूहरुले गरेको प्रतिबद्धता अनुसार आफूहरु निर्वाचित भएर गाउँपालिकामा आए घोषणापत्रलाई बोलेर मात्र नभई कार्यान्वयन गरेरै देखाउने माओवादी केन्द्र लिखु गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार एकिन्द्रराज कटवाल सुदिपले बताए ।