नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आचारसंहिताको खिल्ली उडाउदै राजनीतिक दल, मुख्य निर्वाचन अधिकृतको कार्यालय मूक दर्शक

ओखलढुङ्गान्युज २१ बैशाख, ओखलढुङ्गा जिल्लामा ठूला राजनीतिक दलहरुले नै  निर्वाचन आचारसंहिताको उल्लंघन गर्न थालेका छन् । जिल्लाको मुख्य तथा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा र नेकपा एकीकृत समाजवादीले नै निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेका हुन् ।

निर्वाचन आचार संहिताको उल्लंघन गर्दै ती राजनीतिक दलहरुले जिल्ला सदरमुकाम लगायत जिल्लाका मुख्य बजार तथा चोकचोकमा रंगी विरंगीका पार्टीका झण्डाहरु बाक्लो मात्रामा झुण्ड्याएका छन् । पार्टीको झण्डा सँगै आचारसंहिता विपरित उमेदवारको तस्विर सहितको ठूलो आकारको फ्लेक्स प्रिन्ट समेत झुण्ड्याएका छन् । त्यस्तै आचारसंहिता विपरित भेष्ट तथा टिसर्टहरु समेत वितरण गर्न थालेको पाईएको छ ।

राजनीतिक दलहरुले जिल्ला सदरमुकाममा रहेका प्रत्येक घर तथा होटल, पसलहरुमा पार्टीको चिन्ह अंकित झण्डा फहराइएका छन् । बजारका कतिपय विद्युत तथा टेलिफोनका पोलहरुमा समेत झण्डा झुण्ड्याइएका छन् । जिल्ला सदरमुकाम लगायत रुम्जाटार, रामपुर, मानेभञ्ज्याङ्ग, घोराखोरी, विलन्दु लगायतका सार्वजनिक स्थलहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा र पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएका छन् ।

जरी निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि सदरमुकाम लगायत ग्रामिण भेगमा समेत साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै ओहोर–दोहोर गराईरहेका छन् ।

पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने भएपनि यस सम्बन्धमा कानून कार्यान्वयन गराउने निकाय मुख्य निर्वाचन अधिकृतको कार्यालय नै मूकदर्शक बनेको छ ।

निर्वाचन आचार संहितामा के छ ?

निर्वाचन आयोगले जारी गरेको आचार संहिता २०७८ मा घर वा जग्गा धनीको अनुमित नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न मिल्दैन ।

स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक जस्ता भेला गर्न हुदैन । जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, ज्याकेट, कमिज, झोला लगायत बोक्न नहुने, निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।

त्यसेगरि उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३ स्क्वायर फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्धेश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था छ ।