नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

माध्यामिक तह शिक्षक पदको नतिजा सार्वजनिक, विषयगत परीक्षा कहिले ?

ओखलढुङ्गान्युज । २० बैशाख, काठमाण्डौं । माध्यमिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

आयोगले देशभर १ हजार ५ सय ५२ जना रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो । मंगलबार सार्वजनिक भएको नतिजा अनुसार माद्यमिक तहको लागि ३२ हजार ९७ जना सहभागी मध्ये ३ हजार ८ सय ८६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सकिने पनि आयोगले जनाएको छ । आयोगका अनुसार वैशाख २६ गते कार्यालय समयभित्र ५०० राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवम् प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेवसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही अनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिनेछ। आयोगले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले आयोगको सूचनालाई आधार मानेर निवेदन लिइदिन समेत अनुरोध गरेको छ ।

शिक्षक सेवा आयोगले विषयगत परीक्षा भने आगामी असार नौ गते हुने जनाएको छ । आयोगका अनुसार विषयगत परीक्षा असार नौ गते बिहान ८ बजेदेखि प्रदेश नं. १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।