नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

एमालेवाट लिखुमा अध्यक्षको उमेदवार बनेका विष्टको दुईओटा नागरिकता

ओखलढुङ्गान्युज १४ बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन २०७९ मा एमालेवाट लिखु गाउँपालिकाको अध्यक्षको उमेदवारी दिएका विष्टलाई दुईओटा नागरिकता लिएको आरोप लागेको छ । उमेदवार मनोनयन पछि उमेदवारको विरुद्धमा दावी विरोध गर्ने समयमा उमेदवार विष्ट माथि दुईओटा नागरिकता लिएको उजुरी परेको थियो ।

अध्यक्ष पदका उमेदवार विष्टले ओखलढुङ्गावाट १८३५/४५४ नम्बरको होम बहादुर विष्टको नाममा र काठमाण्डौंवाट २७१७६२/०५१/९४६८ नम्बरको मिलन विष्टको नाममा नागरिकता लिएको प्रमाण फेला परेको छ । अध्यक्ष पदका नेपाली कांग्रेसका उमेदवार अशोक कुमार कार्कीले विष्ट विरुद्ध उजुरीका क्रममा यस्तो प्रमाण बुझाएका छन् ।

अध्यक्ष पदका उमेदवार विष्ट विरुद्ध उजुरी परेपछि आरोपित पक्षलाई आवश्यक प्रमाण सहित बैशाख १५ गते दिउसो २ बजेसम्म सफाई पेश गर्न भनिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिनुभयो । आरोपित पक्षले सफाई पेश गरेमा त्यस उपर छलफल पश्चात र नगरेमा सोहि अनुसार १५ गते बेलुकी सम्म उजुरीका विषयमा अन्तिम निर्णय हुने पनि थापाले जानकारी दिनुभयो ।

उजुरीको बारेमा अनुसन्धान भैरहेको पनि लिखु निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।