नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

एमाले लिखुका पालिका अध्यक्ष उमेदवार विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी

ओखलढुङ्गान्युज १३ बैशाख, ओखलढुङ्गा नेकपा एमालेवाट लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विष्ट विरुद्ध उजुरी परेको छ । उमेदवारी दर्ताको भोलिपल्ट अर्थात मंगलबार उमेदवारको विरुद्धमा दाबी विरोध गर्ने समय रहेकोमा एमालेवाट अध्यक्ष पदका उमेदवार विष्टले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो ।

विष्टले दोहोरो नागरिकता सँगै उनी विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दासमेत कायमै रहेको उजुरीमा दाबी गरिएको छ । विष्टले ओखलढुङ्गा ठेगाना राखेर काठमाडौंबाट मिलन विष्ट नाम गरेर नागरिकता लिनुका साथै ओखलढुङ्गाबाटै होमबहादुर विष्टको नाममा गरि दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो ।

गाउँपालिकाका अध्यक्षका विरुद्धमा उजुरी परेको विषयलाई लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेशकुमार थापाले उजुरी परेको पुष्टि गरेका छन् । उजुरीको विषयमा अनुसन्धान भइरहेको लिखु गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उमेदवारी दिएका व्यक्तिको विरुद्धमा उजुरी दिदा सोहि पदका अर्का उमेदवार वा निजले तोकेको आधिकारीक व्यक्तिले मात्र उजुर गर्न पाउने निर्वाचन आयोगको कानूनी प्रावधान छ । सोहि प्राबधान अन्तर्गत नेपाली कांग्रेसबाट लिखु गाउँपालिकाको अध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका अशोक कार्कीले उजुरी दिएका हुन् ।

त्यस्तै लिखु गाउँपालिकाका अन्य केहि वडा अध्यक्षका विरुद्धमा समेत उजुरी परेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ । वडा अध्यक्षका उमेदवार केही नेपाल सरकारको कालो सूचिमा रहेको तथा केहि ठेक्कापट्टामा संलग्न रहि बेरुजु रहेको उजुरी परेको कार्यालयले जनाएको छ । उनीहरुको बारेमा समेत अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ ।