नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

परीक्षामा सार्न नपाउदा रुम्जाटारका विद्यार्थीले आफ्नै साथिलाई मरणासन्न हुनेगरि कुटे

ओखलढुङ्गान्युज १३ बैशाख, ओखलढुङ्गा मंगलबार एसईईको परीक्षा सकेर फर्कर्दै गर्दा रुम्जाटार माविका विद्यार्थीले आफ्नै साथिलाई मरणासन्न हुनेगरि कुटपिट गरेका छन् । कुटपिटका कारण एउटै परीक्षा सेन्टर भएका महेश्वर मावि भदौरेका विद्यार्थी गोपाल आलेमगर गम्भिर घाईते भएका छन् ।

मंगलबार माम्खा मावि सेन्टरमा एसईईको परीक्षा दिदै गर्दा आलेमगरसँगै सगैका साथिले प्रश्नको उत्तर सार्न खोजेका थिए । तर साथिलाई आलेमगरले आफूले लेखेको सार्न नदिएपछि परीक्षा सकेर फर्कदै गर्दा बाटोमा आक्रमण गरि घाईते बनाएको घाईते विद्यार्थीका साथिहरुले बताएका छन् । गम्भिर घाईते भएका विद्यार्थी आलेमगरलाई यो समाचार तयार पार्दै गर्दा उपचारका लागि सामुदायीक अस्पताल मिसन पठाईएको माम्खा माविका प्रधानाध्यापक गेट प्रसाद अधिकारीले जानकारी दिए ।

घटना विहान ११ बजेतिर घटेको भएपनि विद्यालय प्रशासनले दिउसो १ बजेतिर मात्रै थाहा पाएको थियो । महेश्वर माविका परीक्षार्थीहरु परीक्षा केन्द्रवाट करीब ५ सय मिटर टाढा बस्थे । बाटामा जादै गर्दा उनीमाथि आक्रमण भएको हो । आक्रमण पश्चात घाईते मगर लगायत उनका साथिलाई शिक्षकलाई बताएमा आक्रमणकारी विद्यार्थीहरुले ज्यान मार्ने समेतको धम्की दिएको पाईएको प्रधानाध्यापक अधिकारीले बताए ।

प्रधानाध्यापक अधिकारीले भने, ‘घटना ११ बजेतिरको रहेछ । एसईई सकेर फर्कदै गर्दा मगरलाई आक्रमण गरेछन् । आक्रमण गरेपछि सरलाई भनिस भने अझै ठिक पार्छौ भनेर धम्कि दिएछन् । साथिलाई कुट्न थालेपछि अरुले छुटाउन खोजेछन् । तर एकजनालाई ४–५ जनाले आक्रमण गरेपछि छुटाउन मुस्किल भएछ । कुटेपछि केटाहरु हिडेछन् । घाईते विद्यार्थी मगर पनि हिडेर कोठमा पुगेछन् । तर कोठामा पुगेर उठ्नै नसक्ने भएपछि उनका साथिहरुले खबर गरे । घाईतेलाई उपचारका लागि मिसन पठाईएको छ । मगरको टाउकामा चोट देखिन्छ । आक्रमणमा सहभागी ४ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा छन् ।’

घटनाको बारेमा जानकारी आउनसाथ जिल्ला प्रहरी कार्यालयवाट थप प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए । पोख्रेलले भने, ‘परीक्षाको सुरक्षाका लागि खटाईएको प्रहरीको टीमको फोन स्विच अफ छ । घटनाबारे थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली पठाईएको छ । त्यो टोली पुगेपछि मात्र घटनाको बारेमा थप विवरण आउछ ।’

घटनाको विषयमा थप विवरण भने आउन बाँकी रहेको छ ।