नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मानेभञ्ज्याङ्ग गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दाजु–भाइ उमेदवार

ओखलढुङ्गान्युज १२ बैशाख, मानेभञ्ज्याङ्ग स्थानीय तहको निर्वाचनमा उमेदवार मनोनयन गर्दा ओखलढुङ्गाको मानेभञ्ज्याङ्गमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा एक घरका दाजु भाइले उमेद्वारी दिएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा दिपेन्द्र रुम्दालीले उमेदवारी दिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष पदमा उमेदवारी दिएका ज्ञानेन्द्रलाई गठबन्धनको तर्फवाट नेपाली कांग्रेसले अगाडी सारेको थियो । तर २०७४ को संसदिय चुनावमा वागी उमेदवारी दिएर आफ्नै पार्टीका जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई प्रदेश सभा सदस्यमा हराएको आरोपमा कांग्रेसले कार्बाही गरेको थियो । ज्ञानेन्द्रलाई गरेको कार्बाही फुक्का नभएपछि कांग्रेसले पालिका अध्यक्षमा वर्तमान उपाध्यक्ष सविता राईलाई अगाडी सारेको थियो ।

कांग्रेसको केन्द्रिय कमिटिले सविता र ज्ञानेन्द्रलाई पालिका अध्यक्षको टिकट नदिएपछि ज्ञानेन्द्रले कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाको सपोर्टमा गाउँपालिकामा स्वतन्त्र उमेदवारको रुपमा अध्यक्ष पदमा उमेदवारी दिएका छन् । कार्बाही फुक्का नभएकोले ज्ञानेन्द्रलाई कांग्रेस कै अन्य नेताहरुले स्वतन्त्रवाट उमेवारी दिन लगाएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदका उमेदवार दिपेन्द्रलाई भने जनता समाजवादी पार्टीले टिकट दिएको हो । दिपेन्द्र नेपाल पत्रकार महासंघका निर्वाचित केन्द्रिय सदस्य समेत हुन् । उनले पत्रकार महासंघको केन्द्रिय सदस्य पदवाट राजिनामा दिएर पालिकाको उपाध्यक्ष पदमा उमेदवारी दिएका हुन् । जनता समाजवादी पार्टीले पालिकाको उमेदवारमा एमालेसँग गठबन्धन गरेपछि जसपाले मानेभञ्ज्याङ्गमा अध्यक्ष छाडी उपाध्यक्ष पदमा मात्रै उमेदवारी दिएको हो ।