नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कांग्रेसले लगायो उमेदवारको टुङ्गो, मानेभञ्ज्याङ्गमा किचलो कायमै

ओखलढुङ्गान्युज १२ बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचनको उमेदवारी मनोनयनको दोश्रो दिन सम्म पनि कांग्रेसमा उमेदवारी सिफारिसमा किचलो कायमै रहेको छ । आन्तरिक किचलोका कारण कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन पश्चात पाएको भागमा समेत उमेदवार सिफारिस गर्न नसकेको हो ।

कांग्रेसले जिल्लाका अधिकांस स्थानमा पालिका प्रमुख र उपप्रमुखका लागि उमेदवारी टिकट वितरण गरेको भएपनि मानेभञ्ज्याङ्ग र लिखुमा अझैसम्म समस्या भएको हो । लिखुमा कांग्रेसले पालिका अध्यक्षका लागि अशोक कार्कीलाई सिफारिस गरेको छ । तर माओवादी केन्द्रको दावीका कारण गठबन्धनमा सहमती हुन नसक्दा केन्द्रको निर्णय लिखुले कुरेर बसेको छ ।

उता मानेभञ्ज्याङ्ग गाउँपालिकामा पनि पालिका अध्यक्षको लागि युवा नेता ज्ञानेन्द्र रुम्दालीलाई सिफारिस गरेको थियो । तर २०७४ मा भएको प्रदेश निर्वाचनमा वागी उमेदवारी दिएर पार्टिका उमेदवारलाई हराएको भन्दै जिल्ला पार्टीको सिफारिसमा केन्द्रले रुम्दालीलाई कार्बाही गरेको थियो । कार्बाही फुकुवा नभएको कारण रुम्दालीलाई कांग्रेसले टिकट नदिने सम्भावना भएपछि अर्को पात्रको खोजी भैरहेको छ । त्यहाँ कांग्रेसवाट महिला नेतृ सविता राईलाई अध्यक्षको टिकट दिने भनेर प्रचार गरिएपनि उनीलाई अध्यक्षको टिकट दिने सम्भावना कम भएको कांग्रेसका एक जिल्ला नेताले बताए ।

कांग्रेसले अध्यक्षमा टिकट नदिने भएपछि रुम्दालीले स्वतन्त्रवाट भएपनि उमेदवारी दिने तयारी गरेका छन् भने गाउँपालिकाको उपाध्यक्षमा आश्रचन राईलाई अगाडी सारेको छ । मानेभञ्ज्याङ्गमा अध्यक्षमा सविता राईले नै टिकट पाउने नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम् केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवारले बताईरहेका छन् । तर अध्यक्षमा रुम्दालीले टिकट नपाए कांग्रेस उमेदवारलाई नै हराउन स्वतन्त्रवाट उठाउने तयारी गरेको अर्का केन्द्रिय सदस्य रामहरि खतिवडालाई आरोप लागेको छ ।

कांग्रेसले अन्य स्थानीय तहमा भने उमेदवारको टुङ्गो लगाएको छ । जस अनुसार खिजिदेम्बा गाउँपाकिलामा अध्यक्षमा भूपेन्द्र बस्नेत र उपाध्यक्षमा शुशिला तामाङलाई टिकट दिएको छ । त्यस्तै आफूले भाग पाएको चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नवराज केसी, सुनकोशी गाउँपालिकाको अध्यक्षमा कमल तामाङ, उपाध्यक्षमा सुनिता अधिकारी, सिद्धिचरण नगरपालिकाको प्रमुखमा पार्टि सभापति तेजेन्द्र खनाल, मोलुङ गाउँपालिकाको अध्यक्षमा प्रकाश दाहाल र चिशंखुगढी गाउँपालिकाको उपाध्यक्षमा सन्तोषबाबु थापालाई टिकट दिएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।