नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा पहिलो दिन ११ प्रमुख र ८ उपप्रमुखमा उमेदवारी, कहाँ कसको उमेदवारी ?

ओखलढुङ्गान्युज ११ बैशाख, ओखलढुङ्गा उमेदवार मनोनयनको पहिलो दिन ओखलढुङ्गाका ८ पालिकाका अध्यक्षमा ११ जनाले उमेदवारी मनोनयन दर्ता गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा भने ८ जनाको मात्र उमेदवारी परेको छ ।

उमेदवारी दर्ताको पहिलो दिन जिल्लाका विभिन्न स्थानीय तहहरुमा मंगोल नेशनल अर्गनाईजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल तथा राष्ट्रिय जनमोर्चा  र स्वतन्त्रका तर्फवाट उमेदवारी दर्ता भएको हो । पहिलो दिन पालिका अध्यक्षमा उमेदवार दिने सबैले उपाध्यक्ष पदमा भने उमेदवारी नदिएको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाका प्रमुख प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।

कहाँ कुन पार्टीको उमेदवारी ?

जिल्लाका सिद्धिचरण नगरपालिकामा राष्ट्रिय जनमोर्चाले मात्रै नगर प्रमुख र उपप्रमुखमा उमेदवारी दर्ता गराएको छ । खिजिदेम्बा गाउँपालिकामा नेकपा (एमाले) र जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुखमा उमेदवारी दिएका छन् । सुनकोशी, मानेभञ्ज्याङ्ग र चम्पादेवी गाउँपालिकामा भने मंगोल नेशनल अर्गनाईजेशनको तर्फवाट पालिकाको अध्यक्ष र उपाध्यक्षमा उमेदवारी परेको छ ।

त्यस्तै, चिशंखुगढी गाउँपालिकामा राप्रपाले अध्यक्षमा उमेदवारी दिएको छ भने मोलुङ गाउँपालिकामा नेकपा माले र राप्रपाले अध्यक्ष पदमा मात्र उमेदवारी दिएका छन् । उता लिखु गाउँपालिकामा भने अध्यक्ष, उपाध्यक्षमा नेकपा (एमाले) र स्वतन्त्रको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।