नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

आज देखी बैशाख १९ गते सम्म कृषि गणना गरिदै

ओखलढुङ्गान्युज । ६ बैशाख, ओखलढुङ्गा । आजदेखि देशका ७७ जिल्लाका ७ सय ५३ ओटै स्थानीय तहहरुमा कृषि गणना सुरु भएको छ । सोहि कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा पनि आजवाट कृषि गणना सुरु गरिएको छ ।

कृषि गणनाका लागि ७ सय ५३ स्थानीय तहका करीब ३ लाख ५० हजार किसानका घरघरमा नै कृषि गणकहरु पुग्दैछन् । कृषि गणनाका लागि देशभर ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरिवेक्षक आ–आफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उप–महानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

कृषि गणना अन्तर्गत कृषकका परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि क्रियाकलाप सम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरिवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।

सरकारले गर्न लागेको कृषि गणना यो सातौं हो । यस गणनामा खटिने गणकहरुले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपंक्षी पालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा बाँझो जमिनको समेत तथ्याङ्क सङ्कलन गरिने भएको छ ।

यसैक्रममा ओखलढुङ्गामा पनि मंगलवारवाट नै कृषि गणना सुरु भएको छ । जिल्लामा कृषि गणनाको लागि ३७ जना गणक र ८ जना सुपरिवेक्षक गरि ४५ जनाको जनशक्ति खटाईएको छ । जिल्लाको करिब १ सय ३० ठाउँलाई गणना क्षेत्र छुट्याएको कृषि गणना कार्यालय ओखलढुङ्गाले जनाएको छ । २०७८ सालको जनगणना अनुसार जिल्लामा ३३ हजार ५ सयको हाराहारीमा कृषक रहेकोमा अहिलेको कृषि गणनामा ३८ सयको कृषि गणना गरिने कार्यालयले जनाएको छ ।