नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा टाईफाईट विरुद्धको खोप अभियान सुरु, ३६ हजारलाई लगाईने

ओखलढुङ्गान्युज चैत २५, ओखलढुङ्गा ओखलढुङ्गामा शुक्रबारदेखि बालबालिकाहरुमा टाईफाईट विरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबार ओखलढुङ्गामा एक कार्यक्रमका विच औपचारिक रुपमा उक्त ओप अभियानको सुरुवात गरिएको छ ।

अभियान अन्तर्गत शुक्रबारवाट ओखलढुङ्गाका सबै स्थानीय तह तथा वडाहरुमा रहेका सामुदायीक विद्यालयहरुमा खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न ओखलढुङ्गाका ८ स्थानीय तहका ७५ वडामा ५ सय ३८ खोप केन्द्र मार्फत खोप अभियान सञ्चालन गरिएको छ ।

अभियानको अबधी भर जिल्लाका ३६ हजार ८ सय ३६ बालबालिकामा खोप लगाईने छ । कूल बालबालिकाको संख्यामा ३० हजार ५ सय २२ जना विद्यालय भित्रका र ६ हजार ३ सय १४ विद्यालय बाहिरका रहेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए । खोप लगाउने विद्यार्थीको तथ्यांक प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीका कर्मचारी तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरु प्रत्यक्ष रुपमा सहभागी भएर लिईएको हो । कोरोना खोप लगाउने प्रयोजनार्थ विद्यार्थीको संख्या विद्यालयवाट लिदा जिल्लामा ३ हजार विद्यार्थीको संख्या फरक पाईएपछि स्वास्थ्य कर्मीहरुले प्रत्यक्ष रुपमा तथ्यांक संकलन गरि टाईफाईट विरुद्धको खोप आजवाट सूरु गरिएको हो ।

खोप अभियान सञ्चालनका लागि १२५ जना सम्म विद्यार्थी भएका विद्यालयमा सोहि स्थानमा नै खोप केन्द्र सञ्चालन गरिएको छ । उक्त संख्या भन्दा कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीहरुलाई नजिकको विद्यालयमा लगेर खोप लगाईने ब्यवस्था गरिएको सूचना अधिकारी पन्तले बताए । धेरै विद्यार्थी संख्या भएका विद्यालयमा भने एक भन्दा बढि खोप केन्द्र सञ्चालन गरिएको छ ।

आगामी असार ३०, २०७९ सम्म नेपाललाई पूर्ण खोप सूनिश्चितता देश घोषणा गर्ने लक्ष्यका साथ आजवाट देशव्यापी रुपमा टाईफाईट विरुद्धको खोप अभियान सञ्चालन भएको छ । ओखलढुङ्गा जिल्लालाई पनि आगामी २०७९ साल जेठ ३० भित्र पूर्ण खोप सूनिश्चितता जिल्ला घोषणा गर्ने जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले तयारी थालेको छ ।