नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ज्योति लाईफले दियो चन्द्रलाई घातक रोग विमा दावीको ४ लाख ७५ हजार

ओखलढुङ्गान्युज । चैत १६, ओखलढुङ्गा । ओखलढुङ्गामा ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धी विमा वापतको रकम विरामीलाई हस्तान्तरण गरेको छ । मंगलबार घातक रोगका विरामी मोलुङ गाउँपालिका वडा नं। १ कुन्तादेवीका ब्लड क्यान्सर पिडित चन्द्रमणी घिमिरेको परिवारलाई घातक रोगको विमा वापतको रकम रु ४ लाख ७५ हजार ४७ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

विरामीले गरेको घातक रोग विमा वापतको रकमको चेकलाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ र ज्योती लाईफ ईन्स्योरेन्स कम्पनी ओखलढुङ्गाका प्रमुख पर्वत कार्कीले संयुक्त रुपमा घिमिरेकी ममी गायत्रा धमला घिमिरेलाई हस्तान्तरण गरेका हुन् । विमा वापतको रकमको चेक हस्तान्तरण गर्दै गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङले मन्छेको जिवन अमूल्य भएकोले अप्ठरयारो परेको बेला सहयोगी समेत हुने भएकोले जीवन विमा गर्नुपर्ने बताउनुभयो । विमा वापतको रकम भने सेवाग्राहीलाई सम्बन्धित विमा कम्पनीले सहजता पूर्वक उपलब्ध गराउने नगरेको गुनासो आउने गरेकोले विमा रकम सहजता पूर्वक उपलब्ध गराउने गरी काम गर्न सुझाव समेत दिनुभयो ।

ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा विमा गर्ने विमितलाई ३५ प्रकारको घातक रोगको समेत विमा गराउदै आएको छ । प्रायः विमितहरुको मृत्यु पश्चात मात्रै जिवन विमा वापतको रकम दावी भुक्तानी गर्दै आएकोमा ओखलढुङ्गामा पहिलो पटक घातक रोगको विरामीलाई पनि विमा वापतको रकम भुक्तानी गरेको हो ।

आफूहरुलाई अप्ठ्यारो परेको बेला चाहिने भनेर विमा गरेको भएपनि जिवन विमा कम्पनीले विमा वापतको रकम भुक्तानीमा ढिलाई गरिदिएको विरामीकी आमाले गुनासो गर्नुभएको थियो । ढिलै भएपनि विमा वापतको रकम उपलब्ध गराईदिएकोमा उहाँले ज्योती लाईफका परिवारलाई धन्यवाद दिनुभयो । छोरोलाई अस्पतालमा नै राखेर उपचार गरिरहनु परेको अबस्थामा भएको खर्चको अभावलाई केही मात्रामा सहयोग पुगेको उहाँले बताउनुभयो ।

विमा गर्ने कुनै पनि विमितहरुलाई  विमा गरेको ९० दिन पश्चात मात्र घातक रोग लागेमा विमा गरेको जीवन विमाको रकम भुक्तानी दावी गर्न सक्ने ज्योति लाईफ ईन्स्योरेन्सका ओखलढुङ्गा शाखा प्रमुख पर्वत कार्कीले बताउनुभयो । विरामीले विमा वापतको रकम भुक्तानीका लागि समयमा नै दावी गरेको बताएपनि विरामीको परिवारले भुक्तानी दावी ढिलाई गरेको तथा केहि प्राबिधीक कारणले भुक्तानीमा ढिलाई भएको कार्कीले स्वीकार गर्नुभयो । आगामी दिनमा त्यस्तो कमजोरी नहुने बताउदै उपस्थित सबैलाई जीवन विमा गर्न आग्रह समेत गर्नुभयो ।