नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

आयोगको परीक्षाका कारण विद्यालय पठनपाठन प्रभावित

ओखलढुङ्गान्युज । चैत १४, ओखलढुङ्गा । चैत १५ गते देखि हुने शिक्षक सेवा आयोगको परीक्षाका कारण ओखलढुङ्गाका विद्यालयका पठनपाठन प्रभावित बनेको छ । भोली देखि अर्थात चैत १५, १७, १९ र २१ गते शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा सहभागी हुन भन्दै विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक बिदामा बसेपछि ओखलढुङ्गा झै देशभरका विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।

केहिदिन अगाडी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना महामारीको कारण पठनपाठन प्रभावित बनेपछि चैतभर पढाइ हुने र वैशाखमा मात्रै परीक्षा गर्ने, नतिजा प्रकाशन गर्ने तथा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर केही शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहहरुले शिक्षक सेवा आयोगको परीक्षाको कारण आगामी वर्षे विदामा कट्टा हुने गरी ६ दिनको विदा दिएका छन् ।

शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि देशभरवाट दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ । जस अनुसार १५ गते माद्यमिक तह, १७ गते निम्न माद्यमिक तह र १९ गते प्राथमिक तहको स्थायी शिक्षकका लागि परीक्षा सञ्चालन हुदैछ । त्यस्तै आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवाको परीक्षा चैत २१ गते परीक्षा सञ्चालन हुदैछ ।