नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

जरिवाना हैन बोनस लिने गरि ठेक्काको काम गर्नुस ः प्रजिअ तामाङ

 

ओखलढुङ्गान्युज । चैत ९, ओखलढुङ्गा । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्माण सम्बन्धी काम गर्ने ठेकेदारहरु कम्पनीलाई बोनस पाउने गरि काम गर्न अनुरोध गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले आज ओखलढुङ्गामा आयोजना गरेको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले यस्तो बताउनुभएको हो ।

भवन हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले भौतिक पूर्वाधारमा हुने लगानी उत्पादनमुखी नहुने बताउनुभयो । आगामी दिनको उत्पादनमुखी क्षेत्रमा हुनुपर्ने भन्दै नागरिकहरुले तिरेको कर र विदेशी ऋण मार्फत नै भवनहरु निर्माण भएकाले ती भवनहरुवाट नागरिकले पाउने सेवा सुबिधामा गुणस्तरीय र सेवामुखी बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । कतिपय ठेकेदार कम्पनीहरुलाई बाध्य भएर जरिवाना गर्नुपरेको भन्दै दिएको समयभन्दा अगाडी नै काम सकेर पाउने बोनस लिने गरि काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले ठेकेदारहरुले समयमा नै काम पनि नगर्ने र जरिवाना गर्दा विरोध गर्ने गरेको बताउनुभयो । निर्माणको कामको जिम्मा लिएर समयमा नै काम सम्पन्न गर्ने ठेकेदारहरुले ओखलढुङ्गावाट पुरस्कार स्वरुप बोनस पनि पाएको उदाहरण दिदै आफूले लिएको काम समयमा नै सम्पन्न गर्न र बोनस लिने गरि काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

ओखलढुङ्गामा आज सघन शहरी तथा भवन निर्माण आयोजनाले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, जिल्ला सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र भू तथा जलाधार व्यबस्थापनको नवनिर्मित भवनलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले सम्बन्धित कार्यालय प्रमुखहरुलाइ नै हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएको पाँचओटा भवनको कूल लागत २० करोड ८४ लाख १६ हजार ४५ रुपैया रहेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका का.मु. आयोजना प्रमुख आ. तुल्सीराम खर्बुजाले बताए । कूल लागत मध्ये निर्माण कम्पनीले भने कूल १८ करोड ५४ लाख १५ हजार ३ सय ५३ रुपैयामा लुम्बिनी विल्डर्स/डाँफे जे.भि. काठमाण्डौले निर्माण गर्ने जिम्मा पाएको थियो । २०७६ साल मंशिर १२ गते योजना सम्पन्न गर्नुपर्ने मिति सहित २०७४ साल कार्तिक २७ निर्माण कम्पनीले योजनाको सम्झौता गरेको थियो ।

कोरोना संक्रमणको त्रासका कारण तोकिएको समयमा नै काम गर्न कम्पनीले नसकेपछि पटक पटक गरि भवन निर्माण सम्पन्न गर्ने मिति २०७८ साल भदौ ३१ सम्म थप गरेको थियो । निर्माण कम्पनीले थप म्यादमा पनि काम सम्पन्न गरेपछि कार्यालयले निर्माण कम्पनीलाई १३ दिनको १२ लाख २४ हजार १ सय ५९ रुपैया जरिवाना समेत तिराएको कार्यालय प्रमुख खर्बुजाले बताए । कोरोनाका महामारीका कारण आफूले समयमा नै काम सम्पन्न गर्न नसकेको र कामदार नपाई निर्माणमा ढिलाई हुदा कार्यालयले आफूलाई जरिवाना तिराएको निर्माण कम्पनीका प्रतिनिधी शम्भु घिमिरेले गुनासो गरेका थिए ।