नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

भदौरेका नागरिक समाजले गराए सांसद सुनुवारको ध्यानाकर्षण

ओखलढुङ्गान्युज चैत , भदौरे मंगलबार भदौरेका नागरिक समाजका प्रतिनिधीहरुले संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारको ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका प्रतिनिधीहरुले सांसद सुनुवार गाउँमा आएको मौका पारेर भदौरेका विकट भूगोलका विद्यार्थीहरुले सहजै पढ्न नपाएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

नागरिक समाजका प्रतिनिधीहरुले साविकका भदौरे गाविसका दोभानटार र भोजेघाटका विद्यालय पढ्ने उमेर समूहका बालबालिकाहरुले भौगोलिक विकटताका कारण आफ्नो पढाई छाड्न बाध्य भएको भन्दै त्यसबारेमा विकल्प सोचिदिन भन्दै ध्यानाकर्षण गराएका हुन् । दोभानटार देखी नजिकको विद्यालय छात्रप्रगती मावि सम्म बालबालिका हिडेर आउन कम्तीमा २ घण्टा लाग्छ । रबुवा देखी काठमाण्डौं जाने गाडी पनि विहान ६ बजे नै जान्छ । दैनिक हिडेर आउन जान गर्दा बढि समय खर्चिने भएपछि उनीहरुको पढाईमा असर त परेकै छ । त्यसैले कतिपय बालबालिकाले पढ्न चाहेर पनि पढाई छाडिरहेको उनीहरुको भनाई छ ।

टाढाका बालबालिकालाई लक्षित गरेर लोकल बस सञ्चालन गर्ने वा हाल सञ्चालन भैरहेको यातायातका साधनमा निशुल्क आउने जाने ब्यबस्था भए केहि मात्रामा भएपनि तत्कालका लागि समस्या हल हुने उनीहरुको भनाई छ । तर दिगो समाधानका लागि भने उनीहरुलाई लक्षित गरे माविको आसपासमा होस्टेल (छात्रावास) सञ्चालनका लागि जग्गा, भवन निर्माणका लागि संघिय सरकारवाट नै बजेटको पहल गरिदिन समेत सांसद सुनुवारको ध्यानाकर्षण गराएका छन् ।

बालबालिकालाई भौगोलिक विकटताका कारण शैक्षिक उन्नतीमा समस्या भएकोले उनीहरुको पढाईलाई सुचारु र सहज गराउन बैकल्पिक व्यबस्थाका लागि पहल गरिदिन उनीहरुले ध्यानाकर्षण गराएका हुन् । सांसद सुनुवारलाई विद्यालयको अवस्थाका बारेमा स्थानीय सभाका अध्यक्ष लाल कुमार आलेमगर, स्थानीयवासी एवम् वडा सचिव चोलेन्द्र कार्की तथा विद्यालयका शिक्षक गगन बहादुर राईले जानकारी गराएका थिए ।

नागरिक समाजको ध्यानाकर्षण पश्चात आफूले यो विषयलाई गम्भिर रुपमा लिने बताउनुभएको छ । अहिलेको विकसित अवस्थामा पनि विद्यार्थीले सहजै अवस्थामा अध्ययन गर्न नपाउने विषय दुखद भएको भन्दै त्यस विषयमा आफूले सम्बन्धित स्थानमा छलफल चलाउने प्रतिबद्धता जनाउनुभएको छ ।