नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

लेटाङको झडपमा महिला प्रहरीको मृत्यु

ओखलढुङ्गान्युज । चैत ७, विराटनगर । प्रहरी र स्थानीय विच झडप हुँदा मोरङको लेटाङ नगरपालिकामा एक महिला प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान उर्मीला श्रेष्ठ रहेकी छन् । झडपमा मोरङका प्रहरी उपरीक्षकसमेत घाइते भएका छन्।

लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लियो । शिक्षकले आफूमाथि फागुका दिन दुर्व्यवहार गरेको भन्दै छात्राले प्रधानाध्यापकलाई उजुरी गरेकी थिइन् ।

छात्राको उजुरी पश्चात प्रअले आरोपित शिक्षकसँग आईतवार सोधपुछ गरिरहेका वेला स्थानीयहरू विद्यालयमा आएर तानातान भएपछि विवाद बढेको थियो । विद्यालयमा आएका आक्रोशित भीडले विद्यालय परिसरबाट शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । आक्रोशित भीडले विद्यालयका साथै आसपासमा रहेको सवारी साधनमा समेत मा आगजनी गर्न थालेपछि नियन्त्रणका लागि नजिकै रहेको प्रहरीको टोली विद्यालयमा आएको थियो ।

विद्यालयमा भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी बलको सहयोगमा भिडलाई नियन्त्रणमा लिईएको थियो । विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई  प्रहरी बेलुका नियन्त्रणमा लिएर विराटनगर लाने क्रममा आक्रोशित भीडले आक्रमण गर्दा महिला प्रहरी श्रेष्ठको मृत्यु भएको बताइएको छ।