नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

१ लाख म्यादी प्रहरीमा जागिर खुल्यो, तलब ३६ हजार ८ सय ८०

ओखलढुङ्गान्युज । चैत १, काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावका म्यादी प्रहरी भर्ना गर्न आवेदन खुला गरेको छ । स्थानीय तहको चुनावलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीमा भर्ती हुन इच्छुक व्यक्तिहरुले यही चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार म्यादी प्रहरीको आवेदन सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका प्रहरी परिसरमा दिन सकिनेछ । कार्यालयका अनुसार म्यादी भर्तीमा सुरक्षा निकायमा ०७८ साउन १ गतेपछि भर्नाका लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएकालाई प्राथमिकता दिइनेछ । सामान्य लेखपढ गर्न सक्नेलेसमेत म्यादीमा भर्नाका लागि आवेदन दिन पाउनेछन् ।

म्यादीमा भर्ना हुन नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग नलागेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक तन्दुरुस्त हुनुपर्नेलगायत मापदण्ड तोकिएका छन्। यसैगरी म्यादीमा भर्ती हुन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने पनि सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले यही चैत १५ गते म्यादी प्रहरीको छनोट शुरु गरिने र चैत २२ मा नतिजा प्रकाशन गरिने उल्लेख गरेको छ । ४० दिनको सेवाका लागि म्यादी प्रहरी जवानको आधारभूत पारिश्रमिक २२ हजार ६ सय ८० रूपैयाँ हुने र खाद्यान्नवापत एकमुष्ठ ७ हजार २ सय रूपैयाँका साथै पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रूपैयाँका दरले थप रकम उपलब्ध गराइने बताइएको छ । यसैगरि चुनावमा खटिनेका लागि यातायात खर्चबापत थप १ हजार रूपैयाँ पनि दिइने जनाइएको छ ।