नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

‘नागरिक समाजको ध्यानाकर्षण प्रति आफु गम्भिर छु’ प्रजिअ तामाङ

ओखलढुङ्गान्युज । चैत १, ओखलढुङ्गा । जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले मंगलबार ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो समयमा ओखलढुङ्गामा कालो बजारी र महंगी बढ्नुका साथै म्याद गुज्रीएको सामाग्रीहरुको सामान विक्रि वितरण भैरहेको भन्दै नागरिक समाज संस्था तथा पत्रकारहरुको साझा फोरम जिल्ला पैरवी सञ्जालले प्रमुख जिल्ला अधिकारीलाई मंगलवार ध्यानाकर्षण पत्र बुझाएको हो ।

केहि दिन अगाडी ओखलढुङ्गामा बसेको जिल्ला पैरवी सञ्जालको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाका सदस्य एवम् परिवर्तनशील महिला उत्थान समाज ओखलढुङ्गाका अध्यक्ष पेमडोमा शेर्पाले बताईन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ध्यानाकर्षणपत्रमा जिल्लाका नागरिक समाज सस्थाको तर्फवाट प्रतिनिधी मूलक रुपमा १० जनाले हस्ताक्षर गरेका छन् ।

मंगलबार बुझाईएको ध्यानाकर्षण पत्रमा कालो बजारी तथा महंगी नियन्त्रण गर्न एवम् म्याद गुज्रिएका सामाग्रीहरुको विक्रि वितरण नियन्त्रण गर्न बजार अनुगमन गर्न, साना सवारी साधनहरुले क्षमता भन्दा बढि यात्रु बोकेकोले सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई नियन्त्रण गर्न आवश्यक अनुगमनमा कडाई गर्न माग गरिएको छ ।

त्यस्तै नदिजन्य पद्धार्थहरुको जथाभावी उत्खनन् तथा विक्री वितरण भैरहेकोले त्यसलाई यिनन्त्रण गरि आवश्यक कानूनी दायरामा ल्याउन पनि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ  । कपि पेष्ट डिपिआरका कारण मोलुङको निर्माणाधिन अस्पताल अलपत्र परेको भनदै त्यसको बारेमा समेत आवश्यक अनुगमन र कार्बाहीका लागि समेत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले पैरवी सञ्जालको तर्फवाट बुझाईएको ध्यानाकर्षण प्रति आफु गम्भिर भएको बताउनुभएको छ । सञ्जालले बुझाएको ध्यानाकर्षणको बुँदामा भएको केही बुँदाहरुको बारेमा आफूलाई पनि केहि जानकारी रहेको र केहि आफुले पनि बुझ्नुपर्ने खालको भएको प्रजिअ तामाङले बताउनुभयो । ध्यानाकर्षण पत्रमा भएको केहि बुदाँहरुको बारेमा आफूले तत्काल एक्सन लिने र केहि आफूले पनि बुझेर त्यसको कार्यान्वयनको अवस्थाका बारेमा सञ्जाललाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी तामाङले प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका तर्फवाट हुने कामको निगरानी तथा आवश्यक कुराहरुमा नागरिक समाज तथा पैरवी सञ्जालको तर्फवाट समेत सहयोग हुने अपेक्षा रहेको प्रजिअ तामाङले बताउनुभयो । नागरिक समाजका तर्फवाट हुने हरेक सकारात्मक गतिबिधीमा आफ्नो सदैव साथ रहने प्रमुख जिल्ला अधिकारी तामाङले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।