नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

चिशंखुगढीको जाल्पा माविको नयाँ भवन उद्घाटन

ओखलढुङ्गान्युज फागुन २९, ओखलढुङ्गा प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने बताएका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको रातमाटेमा निर्माण भएको नयाँ विद्यालय भवनको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

भवनको उद्घाटन सभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने बताए । खालि कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न नसक्ने मन्त्री कार्कीको भनाई थियो ।  मन्त्री कार्कीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिन आग्रह गरे ।

विद्यार्थीलाई नयाँ कुरा दिन नसकी शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै गर्ने विषयले सामुदायीक विद्यालय संकटमा परेको बताए । हुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले भाषा जुन भए पनि विद्यार्थीले लिने ज्ञान समान हुनुपर्ने बताए । विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताए ।