नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

महिला दिवसको अबसरमा मोलुङमा लोकगीत प्रतियोगिता

ओखलढुङ्गान्युज फागुन २४, प्राप्चा अन्तराष्ट्रिय महिला दिवस ८ मार्चको अबसर पारेर जिल्लाको मोलुङ गाउँपलिकाका अन्तर वडा सञ्जाल स्तरीय लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय स्वास्थ्य आमा समूह सञ्जाल तथा मोलुङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा चेतनामूलक लोकगीत प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरको स्वास्थ्य आमा समूह वडा सञ्जाल प्रथम भएको छ । त्यस्तै मोलुङ गाउँपालिका वडा नं.१ स्वास्थ्य आमा समूह वडा सञ्जाल दोश्रो तथा वडा नं. ३ प्राप्चा स्वास्थ्य आमा समूह वडा सञ्जाल तेश्रो भएको छ । स्वास्थ्य आमा समूह वडा सञ्जाल वडा नं. ५ प्राप्चा भने सान्त्वना भएको छ । मोलुङ गाउँपालिकामा ८ ओटा वडाहरु भएतापनि प्रतियोगितामा भने ६ ओटा समूहले मात्र भाग लिएका थिए ।

प्रतियोगीताका विजेता तथा सहभागी वडा स्तरीय आमा समूह सञ्जाललाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ तथा अन्य अतिथीहरुले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । महिला दिवस कार्यक्रम पालिका केन्द्रित गरेर गरेको भएतापनि वडा नं. ७ पात्लेले भौगोलिक दुरी देखाउदै सहभागीता जनाएन । त्यस्तै वडा नं. ४ हर्कपुरले भने आफ्नै सापेक्षतामा महिला दिवस मनाउने भन्दै प्रतियोगितामा सहभागीता जनाएको थिएन ।

प्रतियोगिताका सहभागीहरुले गीतको शब्दमा लैङ्गिक हिंसालाई कम गर्नका लागि समाजमा महिला पुरुषको भूमिका, कर्तव्य, कानूनी सजाय तथा महिलाको हक अधिकारका बारेमा समेत सचेतनामूलक प्रस्तुती गरेका थिए । महिला दिवस कार्यक्रमलाई गाउँपालिका स्तरिय विभिन्न राजनितीक पार्टीका प्रमुख तथा प्रतिनिधीहरुले समेत सम्बोधन गरेका थिए ।

महिला दिवसको अबसर पारेर गाँउपालिकाका ३५ वर्ष भन्दा मुनीका विभिन्न कारणले श्रीमान गुमाएका एकल महिलाहरुलाई सञ्जालले सम्मान गरेको थियो । एकल महिलाहरुमा हुने नैराश्यतालाई हटाउन र एकल भएर पनि रहन सकिन्छ भन्दै उहाँहरुको पिडा वाढ्न भन्दै ७ जना एकल महिलाहरुलाई दोसल्ला ओढाए र सम्मान समेत गरिएको गाउँपालिका उपाध्यक्ष हेम कुमारी तामाङले बताउनुभयो ।