नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

सहिद सप्ताहको समापनमा सहिद परिवारलाई सम्मान

ओखलढुङ्गान्युज । फागुन २१, ओखलढुङ्गा । सहिद प्रतिष्ठान नेपाल ओखलढुङ्गाले जनयुद्धका क्रममा सहिद भएकाहरुको परिवारलाई सम्मान गरको छ । सहिद सप्ताहको समापनको अवसर पारेर माओवादी केन्द्र निकट रहेको सहिद प्रतिष्ठान नेपालले जनयुद्धको क्रममा सिद्धिचरण नगरपालिकावाट ज्यान गुमाएका सहिदको परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष एवम् प्रदेश नं. १ अर्थ समितिका सभापति मोहन कुमार खड्काले सम्बोधन गर्दै सहिदहरुको लगानी र बलीदानको बारेमा स्मरण गरेका थिए । देशको सुन्दर भविष्यको कल्पना गर्दै समाज परिवर्तनको क्रममा हजारौ सहिदहरुले बलिदानी गरेको भन्दै अहिले विभिन्न स्वार्थमा तत्कालीन नेताहरुले सहिदको रगतको अपमान गरेको बताउनुभयो । सहिदको रगतको अपमान गर्नेहरुलाई रगतको श्राप लाग्ने भन्दै सहिदको रगत र सपना माथि अपमान गर्न कसैलाई छुट नभएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १४ गते देखि २१ गते सम्मलाई सहिद सप्ताहको रुपमा मनाउदै आएको छ । माओवादी केन्द्रले सप्ताहको अबधि भर १० बर्षे सशस्त्र द्वन्द्वको क्रममा जिवन गुमाएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ । यहि विचमा सहिदका परिवारहरुसँग भेटघाट तथा दोसल्ला ओढाएर सम्मान समेत गर्दै आएको छ । यहि क्रममा आज नगरपालिकाका १३ जना सहिद परिवार तथा ५ जना बेपत्ता भएका परिवारहरुलाई सम्मान गरेको हो । द्वन्द्वको क्रममा ओखलढुङ्गाका ७८ जनाले माओवादी तर्फवाट ज्यान गुमाएका छन् भने १२ जना वेपत्ताको सूचिमा रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य खड्ग योगी अनिल, जिल्ला संयोजक निशान्त शर्मा, नगरपालिका अध्यक्ष रुपेश शाक्य लगायतले सहिदको सम्मानमा आफ्नो धारणा राखेका थिए । सम्मान कार्यक्रम सहिद प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष एकिन्द्रराज कटवालको अध्यक्षता तथा सिद्धिचरण नगर कमिटीका सचिव बशन्त कटवालको सञ्चालनमा सम्पन्न भएको हो ।