नेपाली समय Loading...२०८३ बैशाख २३ बुधबार

माओवादी केन्द्र ओखलढुङ्गाको संयोजक बने निशान्त शर्मा

ओखलढुङ्गान्युज फागुन १९, ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता निशान्त शर्मा ओखलढुङ्गाका जिल्ला संयोजक बनेका छन् । माओवादी केन्द्र प्रदेश नं. १ समिति तथा जिल्लाका प्रदेश सदस्यहरुले जिल्ला नेतृत्वको टुङ्गो लगाउन नसक्दा जिल्ला संयोजक तोक्ने जिम्मा अध्यक्षलाई दिएका थिए ।

प्रदेश सदस्यहरुले लगाएको जिम्मा अनुसार विहिबार शर्मालाई ओखलढुङ्गाको जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । शर्मालाई जिल्ला संयोजक तोकेको विषयमा पार्टी केन्द्रवाट आधिकारीक सर्कूलर भने जिल्ला पार्टी कार्यालयलाई उपलब्ध भैसकेको छैन । जिल्ला संयोजकको जिम्मेवारी तोकेसँगै जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जको समेत टुङ्गो लगाउने काम शुक्रबार गर्ने माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

माओवादी केन्द्रको जिल्ला संयोजक बन्ने आकांक्षा धेरै नेताहरुले राख्दा लामो समयसम्म जिल्ला नेतृत्वको टुङ्गो लाग्न सकेको थिएन । पार्टी केन्द्रले प्रदेश नं. १ का अर्थ समितिका सभापति समेत रहेका ओखलढुङ्गाका सांसद मोहन खड्कालाई संयोजकको जिम्मा दिन चाहेको थियो । तर एक मान्छे एक पदको पार्टीको अबधारणालाई कार्यान्वयन गर्न भन्दै खड्का ईच्छुक देखिएनन् । खड्का यसभन्दा अगाडीका जिल्ला अध्यक्ष समेत हुन् । खड्काले जिल्ला संयोजक हुन ईच्छा नदेखाएपछि ओखलढुङ्गाको संयोजक छान्न माओवादी केन्द्रलाई हम्मेहम्मे परेको थियो ।

अमेरिकी सहयोग एमसीसीलाई माओवादी केन्द्रको समर्थनमा संसदवाट पास गरेपछि जिल्लाका नेता कार्यकर्ताहरु समेत असन्तुष्ट रहेका छन् । केन्द्रिय लेखा आयोगका संयोजक समेत रहेका ओखलढुङ्गा माओवादी केन्द्रका नेता पेशल खतिवडा समेत पार्टीको निर्णयको विरुद्धमा रहेका छन् । जसले ओखलढुङ्गामा माओवादी केन्द्रको संगठनलाई एकतावद्ध बनाउन तथा संगठनलाई गतिशिलता प्रदान गर्न अबको नेतृत्वलाई चुनौती देखएिको छ ।