नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आज महाशिवरात्री, शिव मन्दिरहरुमा दर्शनार्थीको भिड

ओखलढुङ्गान्युज । फागुन १७, काठमाण्डौं । आज महाशिवरात्री पर्व । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने यस पर्व हिन्दूहरुका आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइन्छ।

मध्यरातमा चतुर्दशी तिथि आज परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज देशभरका शिव मन्दिरहरुमा भगवान् शिवको दर्शनका लागि भक्तजनहरुको घुईचो लागेको छ । 

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन  पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।  महाशिवरात्रिका अवसरमा मंगलबार बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको  कोषले जनाएको छ । यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।