नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

यसममा एकदिने प्रजनन् स्वास्थ्य शिविर, ११० जनाले गरे स्वास्थ्य परीक्षण

ओखलढुङ्गान्युज फागुन १५, यसम जिल्लाको लिखु गाउँपलिकामा प्रजनन् स्वास्थ्य सम्बन्धिको एकदिने शिविर सम्पन्न भएको छ । लिखु गाउँपालिकाको आयोजनामा शनिवार यसममा उक्त शिविर सम्पन्न भएको हो ।

शनिवार विशेषगरि गाउँपालिका भित्रका आङ खस्ने समस्या भएका महिलाहरुलाई लक्षित गरेर एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको लिखु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनानाथ चौधरीले बताए । निमित्त प्रमुख चौधरीका अनुसार अहिले जटिल बन्दै गएको आङ खस्ने समस्या भएका तथा त्यसैका कारण हुनसक्ने क्यान्सर तथा त्यसको निराकरण एवम् थप उपचारमा सहयोग पुर्याउने उद्धेश्यले शिबिरको आयोजना गरिएको हो ।

एकदिवसीय स्वास्थ्य शिविरमा १ सय १० जनाले परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षणका क्रममा महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच, आङ खस्ने समस्या भएका महिलालाई रिङ प्रेसरी लगाउने सुबिधा तथा सेतो पानी बग्ने समस्या भएकाहरुको उपचार लगायतको सेवा प्रदान गरिएको थियो । त्यस्तै परीक्षणका क्रममा प्रजनन् सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गर्दै स्थानीय स्तरमा नै उपचार हुन सक्ने रोगका विरामीहरुलाई औषधी सिफारिस तथा प्रदान गर्नुका साथै थप उपचार गर्नुपर्ने विरामीलाई तत्काल उपचारका लागि अन्य अस्पतालहरुमा सिफारिस गरेको पनि निमित्त प्रशासकिय प्रमुख चौधरीले जानकारी दिए ।

शिविर लिखु गाउँपालिका तथा साहस नेपालको संयुक्त आयोजनामा भएको हो ।