नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

फोहोर मैलावाट उत्पन्न हुनसक्ने समस्या समाधानका लागि नगरपालिकाको ध्यानाकर्षण

ओखलढुङ्गान्युज फागुन १५, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकावाट उत्पादन भैरहेको फोहोरलाई उचित व्यबस्थापन गर्नका लागि सरोकारवालाहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । शनिवार ओखलढुङ्गामा नगरपालिकाकै आयोजनामा भएको फोहर मैलावाट सृजित समस्या र त्यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. ज्योति गिरीले सहजीकरण गर्नुभएको थियो । सहजीकरणका क्रममा डा. गिरीले फोहोर मैलाको व्यबस्थापनका लागि विश्वव्यापी मान्यताका रुपमा रहेको सेभेन आरलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त मान्यता अनुसार फोहोर मैलाको ब्यबस्थापन गरेमा फोहोर कम हुनुका साथै फोहोर मैलालाई विसर्जन गर्दा उत्पन्न हुने विभिन्न तत्वहरुका काराण मानव स्वास्थ्यलाई पर्ने असरलाई समेत कम गर्न सकिने जानकारी गराउनुभएको थियो ।

सहजिकरणको प्रस्तुती पश्चात सहभागीहरुले जिल्ला सदरमुकाम तथा नगरपालिका क्षेत्रमा उत्पन्न हुने फोहोर मैलालाई उचित विसर्जन गर्दा ओखलढुङ्गामा उचित प्रविधिको बारेमा चासो लिएका थिए । अन्तरक्रिया कार्यक्रमको अन्त्यमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले नगरपालिकामा उत्पादन हुने फोहोरलाई उचित रुपमा पूनरप्रयोग हुने गरि व्यबस्थापनका लागि प्रयास भैरहेको बताउनुभयो ।

हाल नगरपालिकाले फोहोर विसर्जन गरिरहेको स्थानमा केहि समस्या समेत सृजना हुन लागेको बताउदै अर्को ठाँउमा फोहोर व्यबस्थापनका लागि तयारी भैरहेका बताउनुभयो । आगामी दिनमा फोहोर मैलाको बर्गीकरण गरि पुन प्रयोग हुन सक्ने फोहोरलाई छुट्टै संकलन तथा व्यबस्थापन गर्ने नगरपालिकाको योजना रहेको समेत नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम सिद्धिचरण नगरपालिकाको सभाहलमा नगरपालिकाको आयोजना तथा ओम् कन्सल्टेन्सी विराटनगरको सहआयोजनामा सम्पन्न भएको हो ।