नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एमसीसीलाई लिएर ओखलढुङ्गामा अखिल क्रान्तिकारीको सडक जनमत

ओखलढुङ्गान्युज । फागुन १२, ओखलढुङ्गा । नेकपा माओवादी केन्द्र ओखलढुङ्गाको भातृ संगठन अखिल क्रान्तिकारीले ओखलढुङ्गा एमसीसीको बारेमा सडक जनमत गरेको छ । बुधबार अखिल क्रान्तिकारी ओखलढुङ्गाले जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीमा सडक जनमत गरेको हो । सडक जनमतका क्रममा सहभागी ९५ प्रतिशतले यथास्थितीमा एमसीसी पास गर्न नहुने भन्ने पक्षमा मतदान गरेका छन् ।

सडक जनमतका क्रममा शिक्षक, विद्यार्थी तथा स्थानीय गरेर २ सयह बढीले सहभागीता जनाएका अखिल क्रान्तिकारी ओखलढुङ्गाका अध्यक्ष सुशान्त लामाले जानकारी दिए । लामाका अनुसार नमूना जनमतमा सहभागी मध्ये ९५ प्रतिशतले यथास्थितीमा एमसीसी पास गर्न नहुनेको पक्षमा र ३ प्रतिशतले भने एमसीसी पास गर्नुपर्ने पक्षमा मतदान गरेको थिए । त्यस्तै २ प्रतिशत मत भने बदर भएको थियो । अखिल क्रान्तिकारीले बुधबार ओखलढुङ्गा लगायत प्रदेश नं. १ का विभिन्न स्थानहरुमा सडक जनमत संकलन कार्यको आयोजना गरेको थियो ।

यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नु उचित की अनुचित भन्ने विषयलाई सडकमै जनमत संग्रह गर्ने निर्णय गरी अखिल क्रान्तिकारीले बुधबार प्रदेश १ का १४ जिल्लामा आन्दोलनकै रुपमा निर्वाचन गरेको थियो । बुधबार प्रदेशभर भएको मतदानमा २ हजार ५८८ मत खसेको अखिल क्रान्तिकारीले जनाएको छ । मतगणना गर्दा २ हजार ३१० मत  अर्थात ८९ प्रतिशतले यथास्थितीमा एमसीसी पास गर्न नहुनेमा र एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा १८३ मत अर्थात ७ प्रतिशत मत परेको आयोजकले जनाएको छ । निर्वाचनमा झण्डै चार प्रतिशत अर्थात् ९५ मत बदर भएको थियो ।

बुधबार भएको सडक नमूना जनमतले पनि यथास्थितीमा एमसीसी पास गर्न नहुने कुरालाई जोड दिएको भन्दै एमसीसी रोक्न बर्तामान सरकारलाई दबाब सृजना भएको अखिल क्रान्तिकारी ओखलढुङ्गाका अध्यक्ष लामाले बताए । जनमतको कदर नगरी सरकार अगाडी बढेमा अखिल क्रान्तिकारी थप कडा आन्दोलनमा उत्रने पनि अध्यक्ष लामाले बताए ।