नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

क्यान्सर पिडित चन्द्रमणीलाई स्वास्थ्यकर्मीको आर्थिक सहयोग हस्तान्तरण

ओखलढुङ्गान्युज फागुन , ओखलढुङ्गा ब्लड क्यान्सर पिडित ओखलढुङ्गा मोलुङ गाउँपालिका १ कुन्तादेवीका चन्द्रमणी घिमिरेको उपचारका लागि ओखलढुङ्गाका स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । एक अनौपचारीक कार्यक्रमका बिच आईतवार स्वास्थ्यकर्मीहरुले संकलन गरेको रकम प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले विरामीको आमालाई हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुवाट संकलन भएको ३ लाख ६ हजार ९ सय रुपैया घिमिरेको उपचारमा सहयोग पुगोस् भनेर प्रमुख जिल्ला अधिकारी मार्फत विरामीका आमा गायत्रा धमला घिमिरेलाई हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । २१ वर्षका युवा ब्लड क्यान्सरका विरामी घिमिरे जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत सुनकोशी गाउँपालिकाको वडा नं. ९ कटुञ्जे, ककनी स्वास्थ्य युनिटका कार्यरत कर्मचारी हुन् ।

युवा अवस्थामा नै ब्लड क्यान्सर जस्तो घातक रोगसँग जुध्नु परेको तथा स्वयम् घिमिरे आफैपनि स्वास्थ्यकर्मी भएकोले जिल्लाका स्वास्थ्यकर्मीहरु आफैलेपनि छुट्टै अभियान सञ्चालन गरेर उक्त रकम संकलन गरिएको सूचना अधिकारी पन्तले बताए । स्वास्थ्यकर्मीहरुले सञ्चालन गरेको सहयोग संकलन अभियानमा जिल्ला भित्रका स्वास्थ्यकर्मी बाहेक जिल्ला वाहिरका विभिन्न व्यक्तिहरुले समेत आर्थिक सहयोग गरेका थिए । स्वास्थ्यकर्मीहरुले सञ्चालन गरेको अभियानमा २ सय ६ जनाले साथ दिएको पन्तले बताए ।

ब्लड क्यान्सरका विरामी घिमिरेको पारिवारीक अवस्था निकै कमजोर रहेको कारण उपचारमा कठिनाई भएको भन्दै जिल्लाका उर्जाशिल युवाहरु माधब कार्की, यदुनाथ धमला तथा भिम गौतमले चन्द्रमणी घिमिरे बचाउन अभियान सञ्चालन गरेका थिए । अभियान सञ्चालन भएपछि विरामी घिमिरेको उपचारका लागि हालसम्म देश तथा विदेशवाट १५ लाख भन्दा बढि रकम संकलन भएको र घिमिरेको सिभिल हस्पिटल मिनभवन, काठमाण्डौंमा उपचार भैरहेको अभियान्ता युवा माधव कार्कीले जानकारी दिए । कार्कीका अनुसार निरन्तर उपचारका क्रममा घिमिरेको स्वास्थ्यमा सुधार हुदै गएको छ । आगामी दिनमा गरिने उपचारका लागि थप रकम आवश्यक हुने हस्पिटलले बताएकोले चन्द्रमणी घिमिरे बचाउन अभियान मार्फत रकम संकलन गरिरहेको पनि कार्कीले बताए ।

घिमिरेको उपचारका लागि अझै सहयोग संकलन कार्य जारि रहेको छ । कार्कीका अनुसार ब्लड क्यान्सरका विरामी स्वास्थ्यकर्मी घिमिरेको उपचारका लागि सहयोग गर्न चाहनेहरुले घिमिरेको नाममा रहेको माछापुच्छ«े बैंकको खाता नं. ०९५००८१३५०१०००११ मा जम्मा गर्न सकिन्छ ।