नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

आङ खसेका महिलाको उपचारको लागि हलेसी तुवाचुङमा घुम्ती शिविर

ओखलढुङ्गान्युज फागुन , खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आङ खसेका महिलाको उपचारका लागि घुम्ती शिविर सुरु गरेको छ । आङ खस्ने समस्या भएर पनि पालिकाका कुना कुनामा कठिन रूपमा दैनिकी बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले घुम्ती शिविर सञ्चालन गरेको हो ।

आङ खस्ने समस्या भएरपनि लुकेर रहेका महिलाहरुको पहिचान गरि उपचार दिने उद्देश्यले नगरपालिकाका विभिन्न वडाहरुमा घुम्ती शिविर सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले उक्त घुम्ती शिविर आईतवार वडा नं. १ को बाहुनी डाँडावाट सुरुवात गरेर मंगलबार वडा नं. ९ को सल्लेमा सञ्चालन गरेको छ ।

मंगलबार सम्म नगरपालिकाका १४ जना महिलाको शरीरमा रिङप्रेसरी राखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए । आङ खस्ने समस्या भएका महिलाका लागि विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्न भीआईए क्याम्प सुरु गरेको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताए ।

घुम्ती शिविरमा भीआईए परीक्षणका क्रममा आङ खसेका कारण क्यान्सर भएकी अवस्थामा एक महिला भेटिएकी छन् । पाठेघरको क्यान्सर भएकी महिलालाई पायक पर्ने सहरमा गएर उपचार गर्नका लागि यातायात खर्चबापत जनही पाँच हजार रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।