नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

आज विद्याकी प्रतिस्वरुप देवी सरस्वतीको पूजा गरि मनाईदै

ओखलढुङ्गान्युज । माघ २३, ओखलढुङ्गा । आज माघ शुक्ल पञ्चमी । आजको दिनलाई बशन्त पञ्चमी पनि भन्ने चलन छ । यसै दिन अर्थात आजको दिन प्रत्येक वर्ष मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइदै छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । त्यस्तै तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास छ ।

गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ ।  यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

सरस्वतीको पूजा विद्यालयहरुमा धुमधामका साथ मनाईदै आएकोमा कोरोना संक्रमण महमारीको त्रासका कारण विगत दुई वर्ष सुस्ताएको थियो । यस वर्ष भने जिल्लामा विद्यालय सञ्चालनमा रोक लगाईए पनि कतिपय विद्यालयहरुले विद्यालयमा नै कार्याक्रमको आयोजना गरेका छन् ।