नेपाली समय Loading...२०८१ बैशाख २८ शुक्रबार

एमाले अधिबेशन ःओखलढुङ्गाको अध्यक्षमा आधा दर्जनको दाबी

ओखलढुङ्गान्युज । पुष २४, ओखलढुङ्गा । नेकपा एमाले ओखलढुङ्गामा नयाँ नेतृत्व चयन गर्न निकै सकस परेको छ । नयाँ नेतृत्व चयन गर्नेगरी शुक्रबारबाट सुरु भएको ९ औँ जिल्ला अधिबेशनमा नेतृत्व चयनका लागि निकै सकस देखिएको हो । 

आगामी ३ वर्षे नेतृत्वका लागी जिल्लामा स्पष्ट दुई गुटका बिच प्रतिष्पर्धा देखिएको छ । शुक्रबारको उद्घाटन सत्र पश्चात सुरुभएको बन्दसत्रले पार्टीको आर्थिक तथा राजनीतिक प्रतिवेदन पास गरेको छ । बन्दसत्रमा आगामी नेतृत्वको बारेमा बेलुका अबेरसम्म सहमती जुट्न नसकेपछि शनिबार बिहान बन्दसत्र गर्ने स्थगित गरिएको छ ।  

नेकपा (एमाले)को जिल्ला अध्यक्षका लागी बिभिन्न ६ जनाको दाबी देखिएको छ। अध्यक्षमा हालका अध्यक्ष मोहन कुमार श्रेष्ठ, नेताहरु शंकर कटवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदी लगायतको दावी छ । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।

जिल्लामा एमालेभित्र प्रदेश सांसद अमिरबाबु गुरुङ र संघीय सांसद यज्ञराज सुनुवार गरी दुई धार देखिएको छ । गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको असंबैधानिक कदमको समर्थन गर्ने र सुनुवार त्यसको विरोध गर्ने समुहका हुन् । अध्यक्षका आकांक्षीमध्ये कटवाललाई प्रदेश सांसद गुरुङको साथ छ भने हर्कबोल राईलाई संघीय सांसद सुनुवारको साथ छ । कटवाल हालका एमाले जिल्ला कमिटीका सचिव हुन् । 

सुनुवार एमाले विभाजन नहुँदा प्रतिगमन विरोधी माधव नेपाल पक्ष भनेर चिनिएका हुन् भने गुरुङ वामदेव गौतम हुदै ओली खेममा पुगेका हुन् । अध्यक्षका आकांक्षी मध्येका अर्का नेता सीताराम गुरुङ जनप्रतिनिधि भएर लामो समयदेखी जिल्लामा काम गरेका नेता छन् ।

नेतृत्वमा वर्तमान अध्यक्ष मोहन कुमार श्रेष्ठको भने सर्बसम्मत रुपमा भएमात्र दावी प्रस्तुत गर्ने श्रेष्ठ निकट एक नेताले बताए । दाबी आधा दर्जनको भएपनि शंकर कटवाल, हर्कबोल राइ र सिताराम गुरुङका बिचमा प्रतिष्पर्धा हुने देखिएको छ । नेतृत्व चयनका बारमा शनिवारको बन्दसत्रमा छलफल र निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन दर्ताका कार्यक्रम हुने सिद्धिचरण नगरपालिकाका उपमेयर एवम् महिला नेतृ इच्छा कुमारी गुरुङले वताइन् ।