नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

प्रविधि मैत्री बन्दै लिखु गाउँपालिकाका विद्यालय

ओखलढुङ्गान्युज पुष , यसम लिखु गाउँपालिकाले शुक्रबार गाउँपालिकाका विभिन्न ६ ओटा सामुदायीक विद्यालयलाई कम्प्युटर र फोटोकपी, प्रिन्टर मेसिन हस्तान्तरण गरेको छ । शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित एक अनौपचारीक कार्यक्रमका बिच उक्त सामाग्री विद्यालयका प्रतिनिधीहरुलाई गाउँपालिका अध्यक्ष गोविन्द पौडेलले हस्तान्तरण गर्नु भएको हो ।

आर्थिक वर्ष २०७८–७९ को वार्षिक वजेटवाट विनियोजन गरेको ५ लाख बजेटवाट ६ ओटा विद्यालयलाई ल्यापटप कम्प्युटर र फोटोकपी, प्रिन्टर मेसीन उपलब्ध गराईएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनानाथ चौधरीले बताउनुभयो । शुक्रबार सामाग्री उपलब्ध गराएसँगै लिखु गाउँपालिका भित्र रहेका २२ ओटै तत्कालीन मावि र निमावि कक्षा सञ्चालन भएका सामुदायीक विद्यालयहरु अब प्रबिधी मैत्री बनेका छन् ।

गाउँपालिका भित्र रहेका केहि विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कम्प्युटर, ल्याब, प्रिन्टर तथा फोटोकपी मेसीन पाएका थिए । त्यस्तै केही विद्यालयले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयका लागि कम्प्युटर, फोटोकपी तथा प्रिन्टर मेसिन खरिद गरेका थिए । जसलाई गाउँपालिकाको बजेवाट समेत सम्बोधन गरिएको थियो । बाकी रहेका १२ ओटा विद्यालयहरु मध्ये ६ ओटालाई गत वर्ष र ६ ओटालाई आर्थिक वर्षको बजेट मार्फत सामाग्री उपलब्ध गराईएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताउनुभयो ।

गाउँपालिकाले पालिका क्षेत्रका सबै स्वास्थ्य चौकी तथा सामुदायीक विद्यायलयहरुलाई प्रबिधी मैत्री बनाउने गरि बजेट तथा कार्यक्रमको विनियोजन गरेको छ । जस अन्तर्गत पालिका क्षेत्रमा रहेका ९ ओटै स्वास्थ्य चौकी तथा स्वास्थ्य यूनिटहरुमा पनि ल्यापटप कम्प्युटर र प्रिन्टर मेशिन उपलब्ध गराईएको चौधरीले बताउनुभयो ।

प्रबिधी मैत्री बनाउने गरि काम थालिएको भएपनि पालिकाका सबै विद्यालय तथा स्वास्थ्य चौकीहरुमा ईमेल ईन्टरनेटको पहुँच भने पुग्न सकेको छैन । पालिकाका सबै वडाहरुमा ईमेल ईन्टरनेटको पहुँच विस्तार गर्नका लागि आर्थिक वर्ष २०७८/०७९ को बजेटवाट फाईबर नेट विस्तार गर्न भन्दै गाउँपालिकाले रु १५ लाख विनियोजन गरेको छ । लिखुका सबै वडामा फाईबर नेट विस्तारका लागि नेपाल टेलिकमले पनि ६० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा नै पालिकाका सबै वडाहरुमा फाईवर नेट सुबिधा विस्तार गर्ने लक्ष्य अनुसार काम भैरहेको गाउँपालिकाका सूचना अधिकृत द्रोण धमलाले जानकारी दिनुभयो ।