नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

अहिलेको गठबन्धन ‘ओली भर्सेस अल’ – मन्त्री आले

 

ओखलढुङ्गान्युज । मंशिर १७, लिखु । नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अहिलेको संयुक्त गठबन्धन चुनावसम्म रहने बताएका छन् । जनजागरण युवा क्लब लिखु गाउँपालिका ६, खाल्टेले सिद्धेश्वर महादेवस्थान माटेमा  बालाचतुर्दशीको अबसर पारेर आयोजना गरेको दुईदिने महोत्सवको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले संसद विघटन गरेर गलत बाटो अपानाएको भन्दै अबको चुनाव भनेको ओली भर्सेस अल हुने बताए । त्यसका लागि गठबन्धनमा रहेका सबै पार्टी कार्यकर्ताहरु एकताबद्ध भै ढुक्क सँग लाग्न आग्रह समेत गरे । सभालाई सम्बोधन गर्दै मन्त्री आलेले खाल्टेको मगर समुदायको सांस्कृतिक संग्राहलय भवन निर्माणका लागि २५ लाख र महादेव मन्दिर निर्माणका लागि २५ लाख दिने प्रतिबद्धता जनाए ।

ओखलढुङ्गा जिल्लाको पर्यटन विकासका लागि आफुले थप पहल गर्ने र आफ्नो मन्त्रालयमा बजेट नभए अर्को मन्त्रालयको समेत बजेट समन्वय गरेर उपलब्ध गराउने बताए । अर्को एक प्रसंग पार्टीले विश्वास गरेर आफु मन्त्री बनेको भन्दै पार्टी र जनताको भावना तथा विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाए ।

त्यस्तै सम्बोधनका क्रममा प्रदेश नं. १ अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सांसद मोहन कुमार खड्काले समग्र जिल्लाको विकासका लागि पहल गरिरहेको भन्दै लिखु गाँउपालिकामा रहेको सांस्कृतिक पर्यटनको विकासका लागि प्रदेश सरकारवाट पनि बजेट विनियोजन गरेको बताए । कतिपय योजनाहरुमा भने प्रदेश वा स्थानीय सरकारको बजेटले मात्र सम्पन्न हुन नसक्ने खालका योजनाहरु रहेकोले संघिय सरकावाट संबोधन गरिदिन मन्त्री आलेलाई अनुरोध गरे ।