नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सिविआर कार्यक्रमलाई मोलुङ गाउँपालिकाले स्वामित्वमा लिने

ओखलढुङ्गान्युज मंशिर , प्राप्चा मोलुङ गाउँपालिकाले समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (सिविआर) लाई दिगोपनाका लागि आफ्नो स्वामित्वमा लिने भएको छ । मोलुङ गाउँपालिकाको कार्यालयमा विहिबार सम्पन्न भएको सिविआर परियोजना र गाउँपालिका विच भएको छलफल तथा बैठकमा गाउँपालिकाका अध्यक्ष मणिराज राईले कार्यक्रमलाई स्थायीत्वका लागि पालिकाले स्वामित्वमा लिने बताउनुभएको हो ।

छलफल तथा बैठकमा गाउँपालिकाका अध्यक्ष राईले सामुदायीक अस्पतालले परियोजना मार्फत मोलुङ गाउँपालिकाका अपाङ्गता भएका नागरिक तथा उनीहरुको परिवारलाई गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । छलफलमा अध्यक्ष राईले परियोजनाले पालिका भित्र रहेका नागरिकहरुलाई सेवा दिदैगर्दा केकस्तो सेवा पाए भन्ने बारेमा पालिकालाई पनि नियमित जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

छलफल कार्यक्रममा सामुदायीक अस्पताल सोब्रुका निर्देशक युवराज आचार्यले हाल दुईओटा पालिकामा सञ्चालनमा रहेको कार्यक्रमको प्रभावकारीताका आधारमा कार्यक्रमलाई जिल्लाका अन्य पालिकाहरुमा समेत विस्तार गर्नेगरि दातृ निकायसँग छलफल भैरहेको बताउनुभयो । सिविआर कार्यक्रमको उद्धेश्य गाउँगाउँको कुनाकुनामा रहेका अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारहरुको समेत क्षमता विकास, आर्थिक उपार्जनमा सहयोग सँगै उनीहरुलाई समुदायमा पुनस्र्थापना गर्नु रहेकोले सधै परियोजना नबस्ने भएकोले पालिकाले स्वामित्व लिने गरि कार्यक्रमको तय गर्न पालिकाका जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा परियोजनाका मोलुङ गाउँपालिका प्रमुख राम बुढाथोकीले २ वर्षको अबधीमा सिविआर परियोजना अन्तर्गत मोलुङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति र उनका परिवारहरुले पाएको सेवा सहयोगका बारेमा प्रगती विवरण समेत प्रस्तुत गर्नुभएको थियो । बुढाथोकीका अनुसार मोलुङमा परियोजना ५ वर्षसम्म रहने भएपनि कार्यक्रमको प्रगती भने २ वर्षमा नै लक्ष्य प्राप्ति नजिक पुगेको बताउनुभएको थियो ।

बुढाथोकीका अनुसार मोलुङमा दुईवर्षको अबधीमा ५६४ घरधुरीले तरकारी तथा फलफुलका विउविजन पाएका छन् । त्यस्तै ६८ जनलाई आर्थिक सहयोग, ५ जनालाई सिपमूलक तालिमसँगै आयआर्जनका लागि सामाग्री सहयोग, ९ ओटा वडा समितिमा घुम्तिकोषको व्यबस्था, २४ ओटा अपाङ्गता भएका व्यक्तिको समूहका १२० सदस्य र १६ क्लवबा ११७ जनालाई अपाङ्गता समाबेशीकरण सम्बन्धि अभिमुखीकरण गराईएको प्रगती विवरणमा उल्लेख छ । त्यस्तै १२३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई थप उपचारका लागि सामुदायीक अस्पताल सोब्रुवाट जिल्ला बाहिरका अस्पतालमा रिफर गरिएको समेत प्रगति विवरणमा उल्लेख छ ।

विभिन्न दातृ निकायहरुको सहयोगमा सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गाले जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकामा अपाङ्ग भएका व्यक्तिहरुलाई लक्षित गरेर समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम विगत दुई वर्षदेखी सञ्चालन गर्दै आएको छ । सन् २०२० जनवरीवा सुरुवात भएको परियोजना पाँचवर्षसम्म सञ्चालन हुनेछ ।