नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

मंशिर १ देखी विद्युतीय राहदानीको परीक्षण वितरण सुरु

ओखलढुङ्गान्युज । कातिक २७, काठमाण्डौं । आगामी मंशिर १ गते देखी नेपाल सरकारले विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्ने भएको छ । लामो समयको प्रयास पश्चात आगामी मंशीर १ देखी वितरणको तयारी थालेको हो ।

सरकारले मंशीर १ देखी परीक्षण वितरण गरेर अंग्रेजी नयाँ वर्ष सन् २०२२ देखी भने औपचारीक रुपमा नेपालमा प्रचलनमा ल्याउने गरी तयारी थालेको राहदानी विभागले जनाएको छ । मंशीर १ देखी केही हप्तासम्म विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने गरि विभाग अन्तिम तयारीमा जुटेको छ ।

नेपाल सरकारले पासपोर्टको डिजाइन स्वीकृति दिएसँगै पहिलो चरणमा २० लाख थान छपाइ सम्पन्न भइसकेको छ । विद्युतीय राहदानीको प्रिन्ट भने वितरणको समयमा नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी विभागले पूरा गरेको जनाएको छ । यो आईएसओ १९०३ मान्यता प्राप्त विश्व स्तरकै प्रविधियुक्त तेस्रो पुस्ताको विद्युतीय राहदानी हो ।

विद्युतीय राहदानीको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।

विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । विदेशमा रहेका नेपाली नागरिकको हकमा नागरिकता नम्बरलाई मान्यता दिइने विभागले जनाएको छ ।