नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सरकारले फेरी बढायो तेलको मूल्य

ओखलढुङ्गान्युज । कातिक २५, ओखलढुङ्गा । सरकारले दुई हप्तामा नै तेलको मूल्य २ पटक बढाएको छ । गत कातिक १२ गते तेल तथा ग्याँसको मूल्य बढाएको सरकारले आज अर्थात कातिक २५ गते मध्यरात देखी लागूहुने गरि पेट्रोलियम पद्धार्थको मूल्यमा फेरी बढाएको हो ।

आजदेखी लागू हुनेगरि बढाएको मूल्य अनुसार खाना पकाउने एलपी ग्याँसमा मात्रै प्रतिसिलिण्डर ७५ रुपैया बढाएको छ । कातिक १२ मा मात्रै प्रतिसिलिण्डर ५० रुपैया बढाएको थियो । बढेको मूल्य अनुसार अब खाना पकाउने ग्याँसको प्रतिसिलिण्डर १ हजार ५ सय ७५ पुगेको छ ।

यस अगाडी ओखलढुङ्गाका व्यबसायीहरुले प्रतिसिलिण्डर १६५० देखी १७५० सम्ममा ग्याँस सिलिण्डरको कारोबार गर्दै आएका थिए । बढेको मूल्य अनुसार अब ओखलढुङ्गामा ग्यासको प्रतिसिलिण्डर रु १८५० सम्म पूग्ने देखिएको छ ।

त्यसैगरि आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा पनि बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ३६ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय १९ रूपैयाँ पुगेको छ ।

त्यसैगरि निगमले हवाई इन्धन प्रतिलिटरमा ५ रूपैयाँ बढाएर १ सय १ रूपैयाँ पुर्याएको छ । निगमले मूल्य बढाएपछि पनि अझै पेट्रोलमा प्रतिलिटर १७ रूपैयाँ ५८ पैसा, डिजेलमा १३ रूपैयाँ १४ पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ५७ रुपैया घाटा नै रहेको जनाएको छ।