नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

प्रहरी चौकी कोषहाटको भवन उद्घाटन

ओखलढुङ्गान्युज कातिक १५, कोषहाट ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं. ९ कोषहाटमा निर्माण सम्पन्न भएको प्रहरी चौकीको आज उद्घाटन गरिएको छ । प्रदेश नं. १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसीले एक औपचारीक कार्यक्रमका विच भवनको उद्घाटन गरेका हुन् ।

भवनको कूल लागत २ करोड माथिको रहेको भएपनि १४ दशमलब २९ प्रतिशतको विलोमा ठेकेदार कम्पनी पुष्पाञ्जली कन्स्ट्रक्सनले भ्याट सहित १ करोड ८५ लाख ५० हजार ७ सय ७९ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता गरेको करीब १८ महिनामा नै ठेकेदार कम्पनीले भवन निर्माणको कार्य सकि गत २०७७ फागुन महिनामा शहरी विकास तथा भवन डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । ठेकेदार कम्पनीले भवन हस्तान्तरण गरेको झण्डै ८ महिना पछि आज भवनको उद्घाटन गरिएको हो ।

सहभागी बक्ताहरुले कार्यक्रममा शुभकामना दिदै आगामी दिनमा भवन मात्र निर्माण भएर नभई भवन भित्र आवश्यक पर्ने भौतिक सामान तथा जनशक्तिका लागि समेत आवश्यक समन्वय गरिदिन सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । भवन उद्घाटनको अवसरमा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी बन्दना राई, शहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठ, सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, सुनकोसी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झनक कुमार कार्की लगायतले कार्यक्रममा शुभकामना राखेका थिए ।

भवन उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसीले प्रहरी चौकी कोषहाटमा रही उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी तथा भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरुलाई सम्मान गरेका थिए । त्यस्तै प्रमुख अतिथि विसीलाई ओखलढुङ्गा जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले ओखलढुङ्गाको मायाको चिनो प्रदान गरेका थिए ।