नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्काले पाए सफाई

ओखलढुङ्गान्युज । कातिक १०, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाएका छन् । जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा अध्यक्ष खड्काले सफाइ पाएका हुन् । जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले अध्यक्ष खड्कालाई सफाइ दिएको हो ।

अध्यक्ष खड्काले गाउँपालिकाका एक उपभोक्ता समितिका पदाधिकारीलाई पालिकाको कोठामा थुनेर योजनाको भुक्तानीका बारेमा दबाब दिएको भन्दै शरीर बन्धक मुद्दा दायर भएको थियो । त्यस्तै पालिकामै काम गर्ने एक महिला स्वास्थ्यकर्मीमाथि जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

अध्यक्ष खड्काले भने दुवै मुद्दा राजनीतिक प्रतिशोधको आधारमा लगाइएको भन्दै आफू निरपराध रहेको जिकिर गर्दै आएका थिए । उक्त मुद्दामध्ये रामेछाप जिल्ला अदालतले खड्कालाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि रामेछाप कारागार पठाएकोमा उच्च अदालतको आदेशले करिब ४ महिनापछि खड्कालाई तारेखमा रिहा गरेको थियो ।

अध्यक्ष खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने अदालतको दाबी छ । खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो । अदालतले सफाई दिएसँगै अध्यक्ष खड्काले सत्यको जित भएको बताएका छन् ।