नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गावाट चारदिनमा ४ सय ५२ ले लिए नागरिकता, स्वास्थ्य मापदण्ड खै ?

ओखलढुङ्गान्युज । कातिक १०, ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट चार दिनमा मात्रै ४ सय ५२ जनाले नागरिकता लिएका छन् । गत आईतबार देखी आज बुधबारसम्म मात्र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गावाट यो संख्यामा नागरिकहरुले नागरिकता लिएका हुन् ।

त्यस्तै चारदिनको अबधिमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट १ सय १४ जनाले राहदानी परिचय पत्रका लागि सिफारिस लिएको र २ सय ६१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । चारदिनमा नयाँ नागरिकता ३ सय ६५ र प्रतिलिपी ८७ ओटा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिनुभयो ।

दशै विदा र लकडाउनका कारण रोकिएका सेवाग्राही एक साथ आएपछि सेवाग्राहीको भिड लागेको प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो । केहिदिनदेखि कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड लागेपछि सेवाप्रवाह र ब्यवस्थापनमा हम्मे हम्मे परेको कम्प्युटर अपरेटर भुवन श्रेष्ठले जानकारी दिए ।

सेवाग्राहीको भिड प्रशासन कार्यालयमा मात्रै होइन जिल्लाका मालपोत, नापी तथा बैकहरुमा समेत सेवाग्राहीको भिड देखिन्थ्यो । सिमित कर्मचारी, परम्परागत शैलीको काम, प्रक्रियागत झण्झट, नियमित विद्युत आपूर्ति तथा ईन्टरनेटमा समस्या, सेवाग्राहीको चाप लगायतका कारणले कतिपय सेवाग्राही भने एउटै कामका लागि २ देखि ३ दिनसम्म कार्यालय धाउन बाध्य भएका छन् ।

टाढाटाढाबाट सेवा लिन आएकाहरुको काम नबनेपछि सदरमुकाममा बास बस्नु पर्ने भएको छ । जसका कारण व्ययभार समेत थपिएको सेवाग्राही नागरिकहरुको गुनासो छ । सेवा लिन कार्यालयमा नागरिकहरुको भिड बढेपनि स्वास्थ्य मापदण्ड पालना नगरिदा कोरोना संक्रमणको जोखिम भने बढेको छ ।