नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

एमाले ओखलढुङ्गा अधिबेशन, यज्ञराजलाई साख जोगाउन सकस

ओखलढुङ्गान्युज । कातिक ९, ओखलढुङ्गा । नेकपा एमालेको आज देशव्यापी रुपमा स्थानीय पालिका अधिबेशन हुदैछ । सोहि क्रममा आज ओखलढुङ्गाका पनि आठओटै पालिकाहरुमा अधिबेशनका लागि तयारी सकिएको नेकपा एमाले ओखलढुङ्गाका अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

ओखलढुङ्गाका सबै पालिकाका अधिबेशनमा सर्बसम्मत नेतृत्व चयनका लागि एमाले जिल्लाको शीर्ष नेतृत्व लागि परेको छ । तर अधिबेशन सुरुवात हुनै लाग्दा सम्म पालिका अध्यक्षमा आकांक्षीहरुको संख्या धेरै देखिएकोले सर्बसम्मत हुने सम्भावना कम छ । तथापी सर्बसम्मत गराउनका लागि छलफल भईरहेको र सर्बसम्मत नभएमा निर्वाचन प्रकृया मार्फत नै नेतृत्वको टुङ्गो लाग्ने एमाले ओखलढुङ्गाका अध्यक्ष श्रेष्ठले बताए ।

आज (मंगलबार) हुने पालिका अधिबेशनमा ओखलढुङ्गावाट निर्वाचित प्रतिनिधी सभा सदस्य यज्ञराज सुनुवारलाई भने आफ्नो साख जोगाउन धौ धौ हुने देखिएको छ । सुनुवारको पालिका मोलुङ गाउँपालिकामा अध्यक्ष पदमा दावी गर्ने धेरै भएपछि सर्बसम्मत नेतृत्व चयन हुने सम्भावना कम रहेको छ । अहिले मोलुङ गाउँपालिकाको अध्यक्षमा अर्जुन धमला, हरि कुमार राई, सञ्जय खत्री र मित्र सुनुवारले दावी पेश गरेका छन् ।

पालिकाको अध्यक्षमा निर्वाचन नै हुने भएमा मित्र सुनुवारले दावी छाड्ने, हरि कुमार राई र अर्जुन धमलाले एक अर्कालाई समर्थन गर्ने अबस्था देखिएको मोलुङका एक नेताले बताए । उनका अनुसार यदी चुनाव हुने भएमा अर्जुन धमला वा हरि कुमार राई र सञ्जय खत्री बीच हुने देखिएको छ । राई र धमला सांसद सुनुवार खेमाका हुन भने खत्री सांसद सुनुवार ईतरका हुन् ।

मोलुङ गाउँपालिकामा सांसद सुनुवारको बर्चश्व रहेपनि ६ गते भएको वडाको अधिबेशन पश्चात कमजोर बनेको मोलुङका स्थानीय एमाले नेताहरुको बुझाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद विघटनको विरुद्धमा तत्कालीन नेकपा एमालेका नेता माधव कुमार नेपालको खेमामा रहि ओलीको कडा आलोचना गरेका थिए । अदालतले संसदको पुनस्थापना गरेसँगै माधव नेपालले समाजवादी पार्टी बनाएपछि नेपाललाई छाडेर सांसद सुनुवार ओली खेमामा आएका थिए ।

एमाले भित्र अझै सुनुवारसँग एमालेका कार्यकर्ता नै विश्वस्त हुन सकेका छैनन् । त्यसैले पनि ओखलढुङ्गाको पालिका अधिबेशनमा सांसद सुनुवारलाई साख जोगाउन धौ धौ हुने देखिएको छ ।