नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

प्रदेश १ का मुख्यमन्त्री आचार्यले पाउलान त विश्वासको मत ?

ओखलढुङ्गान्युज । कातिक ७, विराटनगर । आईतवार अर्थात आज प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री बनेको झण्डै २ महिनापछि आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश नं. १ मा आचार्य नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज (आईतवार) साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हालको सत्तापक्ष एमालेसँग सभामुखसहित जम्मा ४१ सांसद छन् । प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा भने ५० जना सांसद छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन ।

विपक्षी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ । आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव गत शुक्रबार पेस गरेपछि सभामुखले छलफल र मत विभाजनका लागि आजसम्म बैठक स्थगित गरेका थिए ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा भने कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद छन् ।