नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

प्रदेश १ का सबै जिल्ला खेलकुद समितिले पायो पूर्णता

ओखलढुङ्गान्युज । कात्तिक ४, विराटनगर । प्रदेश नं. १ को खेलकुद विकास बोर्डले प्रदेशका १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा अध्यक्ष/उपाध्यक्ष नियुक्ति गरेको छ । खेलकुद समितिका अध्यक्ष उपाध्यक्षको नियुक्तिसँगै जिल्ला खेलकुद समितिले पूर्णता पाएको हो ।

नियुक्त भएका अध्यक्ष र उपाध्यक्षहरुलाई खेलकुद विकास बोर्डले विहिबार (आजै) सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई विहिबार सपथ गराएका हुन् । खेलकुद विकास बोर्डले बुधबार मात्रै १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताए । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरु हुन नसकेको मन्त्री साम्सोहाङले बताए ।

लामो समयदेखि नेतृत्वविहिन खेलकुद समितिहरुमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले बताए । नेतृत्व नहुदा जिल्ला जिल्लामा हुन नसकेको खेलकुद गतिबिधीहरु अब तिब्र गतिमा सञ्चालन हुने बोर्डका सदस्य सचिब बस्नेतले बताए ।