नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

साफ च्याम्पियनसिप उपाधिको लक्ष्य फेरि लक्ष्यमै सिमित

ओखलढुङ्गान्युज । असोज ३१, काठमाडौं । यसपटक साफ च्याम्पियनसिपको उपाधि चुम्ने नेपालको लक्ष्य फेरि सपनामा मात्र सिमित भएको छ । इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएसँगै उपाधि जित्ने लक्ष्य सपनामा सिमित भएको हो ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा शनिवार राति सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन । जितसँगै भारतले भने साफ च्याम्पियनसिपको उपाधिमा आठौँ पटक कब्जा जमाउन सफल भयो ।

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले तीन गोल गर्यो । भारतले खेलको ४९ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा सुरेश सिंह वाङजाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहल अब्दुल समादले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।

यससँगै नेपाल पहिलो पटक साफमा उपविजेता बनेको हो।पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल प्रवेश गरेको थियो।