नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व

ओखलढुङ्गान्युज । असोज २७, काठमाडौँ । आज बडादशैंको आठौं दिन । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज हिन्दूधर्मावलम्वीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

बडादशैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजा आरधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणका लागि भने पशु बलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्दछ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ। यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

आज महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने प्रचलन रहेको छ ।