नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मुगुमा बस दुर्घटना, २३ को मृत्यु

ओखलढुङ्गान्युज । असोज २६, काठमाडौँ । मुगुमा बस दुर्घटना हुँदा बसमा सवार २३ जनाको घटास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस गमगढी वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा मंगलबार दिउँसो दुर्घटनामा परेको थियो ।

गाडीमा ७० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा मुगुमा २३ जनाको घटनास्थलमै मृत्यु भएको हो । नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बसमा ७० भन्दा बढी यात्रु सवार रहेको जानकारी आएपनि कत्ति सवार रहेका थिए खुल्न बाँकी रहेको बताए । बस दुर्घटना परि गम्भिर घाइते भएका १८ जनाको उद्धार गरिएको छ । बस सडकबाट ५०० मिटर तल खसेको भट्टले जानकारी दिए । 

यो समाचार तयार पार्दै गर्दासम्म उद्धार कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । घटनाको विस्तृत विवरण भने आउन अझै बाँकी छ ।

दशैंको बेलामा गाउ फर्कने यात्रुहरुको चापका कारण सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम बढेकोले सचेत भई यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।