नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आज हिन्दूहरुको महान् चाड दशैं नवरात्रको तेश्रो दिन

ओखलढुङ्गान्युज । असोज २३, काठमाण्डौं । आज हिन्दूहरुको महान् चाडै बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन । आज दशैंघर तथा शक्तिपीठमा नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।

चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन् ।

भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ । पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समयसमयमा विभिन्न रूप लिएकी थिइन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ । यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ ।

थाहाखबर डटकमवाट