नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

किसानको गुनासो, हाम्रो समस्या सुन्ने को ?

ओखलढुङ्गान्युज । भदौ ३१, ओखलढुङ्गा । ओखलढुङ्गाका किसानहरुले जिल्लामा आफुहरुको समस्या सुन्ने कोही नभएको गुनासो गरेका छन् । विहिबार जिल्ला सदरमुकाम ओखलढुङ्गामा राष्ट्रिय कृषक समूह महासंघ ओखलढुङ्गको चौथो जिल्ला परिषद्मा किसानहरुले त्यस्तो गुनासो गरेका हुन् ।

परिषदको छलफल कार्यक्रममा सहभागी किसानहरुले किसानको नाममा बर्षेनी लाखौं रकम विभिन्न शीर्षकमा विनियोजन हुने गरेको भएपनि अनुदान वापतको सहयोग वास्तविक किसानहरुले नपाउने र किसानको नाममा विचौलीयाले नै लिएको गुनासो गरे । किसानहरुलाई दिईने सरकारी अनुदानका लागि किसानहरुले आवश्यक कागजात र प्रकृया बारेमा जानकारी नहुँदा विचौलीयाले नै फाईदा लुट्ने गरेको उनीहरुले गुनासो पोखे ।

किसानले पाउने अनुदानका लागि अनेकथरि कागजात मिलाउन नजान्दा बिचौलियाले कर्मचारी र जनप्रतिनिधीसँग मिलेर अनुदान लिने गरेको उनीहरुको आरोप छ । त्यस्तै वन्यजन्तुको नियन्त्रण तथा उनीहरुले गरेको क्षतिमा पनि स्थानीय सरकारहरुले कृषि बालिको क्षतिपूर्ति दिन वा त्यस्ता वन्यजस्तुको व्यवस्थापन गर्न सहयोग गर्न समेत चासो नदिएको उनीहरुको आरोप छ ।

कार्यक्रममा सहभागी भएका पत्रकार तथा किसानका प्रतिनिधीहरुले सबे स्थानीय तहहरुले कृषि नीति ल्याएर किसानाका समस्या समाधान गर्न सरोकारवालाहरुलाई सुझाव दिएका छन् । किसानको गुनासो तथा सुझाब माथि सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले संघिय सरकारले नै कृषि सम्बन्धिको ऐन नल्याउदा आफुहरुले कृषि ऐन जारी गर्न नसकेको बताए । कृषि ऐन नै नभएपनि आफूहरुले किसानाको क्षेत्रमा सक्दो लगानी र सहयोग गरेको उनको दावी छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख जय वहादुर श्रेष्ठले किसानहरुले पाउने अनुदानमा वास्तविक किसानले नपाएको भन्ने सत्य भएको भन्दै सत्य हुदाँहुदै पनि अनुदानको रकम अर्कालाई दिन बाध्य भएको बताए । अनुदानको बजेट आउदा नियम र कागजात पुरा गरेकालाई दिनुपर्ने हुँदा केही समस्या भएको बताउदै किसानहरुले अनुदानको बारेमा सहि र समयमा नै सूचना नपाउदा समस्या भएको बताए । आगामी दिनमा भने उक्त समस्यालाई कमगर्न आफू प्रतिबद्ध रहेको सभापति श्रेष्ठले बताए ।

महासंघको चौथो जिल्ला परिषदमा वार्षिक प्रगति प्रतिवदेन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । जिल्ला परिषदमा जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ, सुनकोसी गाउँपालिकाका उपप्रमुख दुर्गा कुमारी तामाङ, मोलुङ, सुनकोसी, सिद्धिचरण, चिशंखुगढी गाउँपालिकाका अगुवा किसानहरु त्था पत्रकारहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।