नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नेपाल टेलिकमको नमस्ते पे सेवा सुरु, तर सुरुवातमा नै झड्का

ओखलढुङ्गान्युज । भदौ ३१, काठमाण्डौं । नेपाल टेलिकमले मंगलबारवाट नमस्ते पे वालेट सुरु गरेको छ । आफ्नो वालेट सुरु गर्नका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो ।

मंगलबारवाट सुरु भएको उक्त वालेटले आधारभूत सेवा सुर गरेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार ‘यूएसएसडी र इन्टरनेटमा आधारित मोबाइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिनेछ । अधिकारीका अनुसार युएसएसडी भनेको अहिले स्टार १४१५ ह्यास डायल गरेर सेवाका लागि इन्टरनेट नहुँदा पनि गर्न सकिने ‘अनुरोध प्रणाली’ हो  ।

मोबाइलबाटै अनलाइन कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुने निर्देशक कार्कीले बताए । यो कम्पनीले ‘युटिलिटी पेमेन्ट सर्भिस’ सहित मोबाइल मनी प्रविधिमा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्नेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब छ ।

अहिले नेपाल टेलिकमसँग ठूलो नेटवर्क छ । नेपाल टेलिकमका १ करोडभन्दा बढी ग्राहक छन् । धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो फड्को मार्न सकिने कम्पनीको विश्वास छ । सरकारी तवरबाटै डिजिटल बैंकिङ सेवा उपलब्ध गराउन यसले ठूलो भूमिका खेल्ने पनि विश्वास गरिएको छ ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने अपेक्षा छ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुन्छ । टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुनसक्छ ।

नेपाल टेलिकमले सुरुवात गरेको नमस्ते पे सेवालाई सुरुवातमा नै झड्का लागेको छ । नमस्ते पे सेवा सुरुभएको जानकारी हुनासाथ सेवा लिनलाई रजिष्टर गरेर सेवा लिन खोजेका धेरै सेवाग्राहीहरुले सेवामा समस्या भएको सामाजिक सञ्जालमा गुनासो गरेका छन् । धेरै सेवाग्राहीहरुले नमस्ते पे सेवा पूर्ण तयारी विना नै हतारमा सार्वजनिक गरेको आरोप लगाएका छन् । आगामी दिनमा टेलिकमले नेपालमा कस्ता–कस्ता सेवा दिन्छ भन्ने हेर्न बाँकी छ ।